परासीका मासु पसल मापदण्ड विपरीत सञ्चालनमा

NAWALPUR TIMES

परासीका मासु पसल मापदण्ड विपरीत सञ्चालनमा
received 454647292537332

मोहन पौडेल
परासी, २१ चैत– नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सदरमुकाम परासीका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालनमा रहेको पाईएको छ । आज परासीस्थित रामग्राम नगर क्षेत्रमा सञ्चालित मासु पसलको संयुक्त अनुगमनको क्रममा अधिकांश मासु पसलले मापदण्ड पालना नगरेको पाईएको हो ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रुपन्देही, जिल्ला प्रशासन कार्यालय परासी, घरेलु तथा साना उद्योग कार्यालय, रामग्राम नगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च, प्रहरीसहितको अनुगमन टोलीले परासी बजारमा सञ्चालित आठ वटा मासु पसलको अनुगमन गरेको हो ।
अनुगमनको क्रममा अधिकांश पसलले सामान्य मापदण्ड नै पूरा नगरेको भेटिएको छ । सरसफाइमा ध्यान नदिएको, मासुको गुणस्तरमा प्रश्न चिन्ह उत्पन्न भएको, मरेका कुखुरा भेटिएको,मासु वद्य गर्ने स्थल फोहोर र पानीको निकास नभएकोले दुर्गन्धित रहेको भेटिएकोले धेरै सुधार गर्नुपर्ने अवस्था देखिएको भेटेरिनरी तथा पशुसेवा विज्ञ केन्द्रका पशु चिकित्सक डा.भरत काफ्लेले जानकारी दिनुभयो ।
अनुगमन टोलीले एक हप्ता भित्र मापदण्ड अनुसारको प्रक्रिया पु¥याई सुधार गर्न लिखित निर्देशन दिएको छ । एक हप्ता भित्र सुधारको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय र भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रमा नबुझाए प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाईने उहाँले बताउनुभयो ।
कतिपय व्यवसायीले दर्ता विनै पसल सञ्चालन गर्नुका साथै स्थानीय नगरपालिकामा दर्ता गरेका व्यवसायीले स्थायी लेखा नम्बर विनै कारोवार गरेको, नापतौलका यन्त्रको अनुमति नलिएको पनि भेटिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नेत्रप्रसाद भुसालले जानकारी दिनुभयो । पसलको साईनबोर्ड, मूल्यसूची लगायत व्यवसाय गर्दा अपनाउनुपर्ने न्यूनतम मापदण्ड पनि पालना नगरेको भेटिएको थियो ।
मौसम स्टोर्समा मरेका १६ वटा कुखुरा भेटिएको थियो भने गोपी फ्रेस हाउस, खुशी फ्रेस हाउस, कुरैसी मासु पसलले सामान्य मापदण्ड पनि पूरा नगरेकोले तत्कालै सुधार नगरे बन्द गरिने अनुगमन टोलीले चेतावनी दिएको छ । मापदण्ड नपु¥याई नागरिकको स्वास्थ्यमा खेलबाड गर्दै आएको पाइएकाले आजको अनुगमनमा अन्तिम पटक निर्देशन दिइएको भुसालले बताउनुभयो ।
अनुगमनमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका डा.भरत काफ्ले, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नेत्रप्रसाद भुसाल, रामग्राम नगरपालिका पशु सेवा शाखाका गोविन्द पौडेल, जिल्ला प्रशासन कार्यालय राजकुमार यादव, उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला सचिव मोहन पौडेल, प्रहरी लगायतको सहभागिता थियो । परासीका मासु पसलमा पटकपटक अनुगमन हुँदै आएपनि सामान्य सुधार मात्र देखिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology