काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेललाई दिने फैसला गरेको छ । आइतबार (आज) न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजालसले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिने फैसला सुनाएको हो ।
जानकारी अनुसार सर्वोच्चले ऋषि कट्टेलको रिट निवेदन अनुसार आज (आइतबार) कट्टेललाई आधिकारिकताको फैसला सुनाएको हो । सर्वोच्चको यो फैसलासँगै पुष्पकमल दाहाल र केपी शर्मा ओली अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।
ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको अवस्थामा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि उक्त पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेर निर्वाचन आयोगमा पेश गरिएको थियो ।
त्यसपछि ऋषि कट्टेलले नेकपाको आधिकारिकता दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
प्रकाशित : २०७७ फागुन २३ गते १५:३७
Facebook Comment