म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर ३८ प्रदर्शनकारीको मृत्यु

NAWALPUR TIMES

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर ३८ प्रदर्शनकारीको मृत्यु
1614825597483

एजेन्सी, २० फागुन ।  म्यान्मारमा बुधवार सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका कम्तीमा ३८ जना मारिएका छन् ।

फेब्रुअरी १ मा सेनाले सत्ता हत्याएपछि भएका प्रदर्शनमा एकैदिन यति धेरै मानिस मारिएको यो पहिलो पटक हो ।  मृत्यु हुने ४ जना बालबालिकासमेत रहेको जनाइएको छ ।  जसलाई संयुक्त राष्ट्रसङ्घले सेनाले सत्ता हातमा लिएयताकै ‘रक्तपातपूर्ण’ दिन भनेको छ ।

 

म्यानमारका छिमेकी देशहरूले जुन्ता सरकारलाई संयमता अपनाउन आग्रह गरेकै अर्को दिन सुरक्षाकर्मीहरूले देशका विभिन्न सहरमा प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली चलाएका हुन्।

‘यो निकै डरलाग्दो छ, यो नरसंहार हो। यहाँको अवस्था र हाम्रो भावना अभिव्यक्त गर्ने कुनै शब्द छैन,’ एक जना युवा प्रदर्शनकारीले समाचार संस्था रोयटर्ससँग भनेका छन्।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार बुधबारको प्रदर्शनमा सहभागी भएकाहरूमध्ये सयौंलाई सुरक्षाकर्मीले पक्राउ गरेका छन्।

‘फेब्रअरी १ मा सेनाले सत्ता लिएपछि आज सबैभन्दा रक्तपातपूर्ण दिन भयो। आजमात्र ३८ मानिसले ज्यान गुमाए। कूपछि अहिलेसम्म ५० बढी मानिस मारिएका छन् र कैयौं घाइते भएका छन्,’ म्यानमारका लागि संयुक्त राष्ट्र संघका महासचिवकी विशेष प्रतिनिधि क्रिस्टिन स्च्रानर बर्जनरले भनिन्।

बर्जनरले आफूले सेनाका उपप्रमुखसँग कूपछि सेनाले अन्तर्राष्ट्रिय समुदायबाट प्रतिबन्ध भोग्नुपर्ने एक्लिनु पर्ने चेतावनी दिएको बताइन्। सेनाका उपप्रमुखले पहिला पनि प्रतिबन्ध भोगेकाले त्यसले फरक नपार्न र आफूहरूले केही मित्र राष्ट्रहरूसँग मात्र सम्बन्ध बनाएर अघि बढ्न सिकिसकेको जवाफ दिएको उनले बताइन्।

म्यानमारको अवस्थाबारे छलफल गर्न शुक्रबार राष्ट्र संघको सुरक्षा परिषद्को बैठक बस्दैछ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology