घुस फालेर गाडीबाट हामफाल्दै भागेका गाउँपालिका अध्यक्षको खोजी, स्थानीयद्वारा तालाबन्दी

NAWALPUR TIMES

घुस फालेर गाडीबाट हामफाल्दै भागेका गाउँपालिका अध्यक्षको खोजी, स्थानीयद्वारा तालाबन्दी
1614758609819

निरन्जन कुमार शाह/जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री घुस रकम फाल्दै भागेपछि स्थानीयवासी बुधवार दोस्रो दिन पनि आन्दोलनमा उत्रिएका छन्। गाउँपालिका अध्यक्ष राउतले मङ्गलवार घुस रकम आठ लाख रुपैयाँ  गाडीबाट फ्यालेर भागेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले धनुषाकै छिरेश्वर नगरपालिका वडा नम्बर ५ मा बाटो छेउमा फ्याँकिएको सो नगद बरामद गर्नुका साथै सवारी र सवारी चालक वीरबहादुर मगरलाई नियन्त्रणमा लिएको थियो ।

कमिसनको रकम फालेर गाडीबाट हाम फाल्दै भागेका गाउँपालिका अध्यक्ष राउतलाई पक्राउ गरी कडा कारबाही गर्न स्थानीय राजनीतिक दल, नागरिक समाजसहित गाउँ बासी मङ्गलवार बिहानदेखि आन्दोलनमा उत्रेका छन् । फरार गाउँपालिका अध्यक्ष राउतलाई तत्काल पक्राउ गरी कारबाही गर्न तथा सम्पत्ति शुद्धीकरण, गाउँपालिकाको हरहिसाब सार्वजनिक, छानबिन लगायतका माग राखेर आन्दोलनमा बुधवार दोस्रो दिन जारी राखेका हुन् ।

उनीहरूले गाउँपालिका कार्यालयमा तालाबन्दी गर्दै विभिन्न मागसहित धर्नामा बसेका छन्। नेकपा प्रचण्ड-नेपाल समूह, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी लगायत नागरिक समाज र गाउँ बासी गाउँपालिका कार्यालय अध्यक्षको कार्यकक्ष, योजना, प्रशासन, लेखा लगायत शाखा तथा मूल गेटमै तालाबन्दी गरेका छन्। तालाबन्दी र स्थानीयको धर्नाले गाउँपालिकाको सम्पूर्ण कामकाज ठप्प भएको छ ।

उनीहरूले गाउँपालिकाको भित्ता र ढोकामा ८ लाख घुस लिने घुस खोरी राउत मुर्दावाद, सम्पूर्ण विकासे योजना सार्वजनिक गर, भ्रष्टाचारी गाउँपालिका अध्यक्ष राउतलाई कारबाही गर लगायतको नारासमेत कागजमा लेखेर टाँसेका छन् ।

एक स्थानीयका अनुसार बटेश्वर गाउँपालिकाका हरेक योजनामा अध्यक्ष राउतले व्यापक कमिसन लिने गरेका थिए ।  उनले नाम नखुल्ने सर्तमा भने, ‘एउटै योजनाको अन्तिम भुक्तानमीमा मात्र ८ लाख रुपैयाँ लिएको हो भने तीन वर्षमा कति कमिसन खाए होला ?’

व्यापक भ्रष्टाचार गर्दै आएका अध्यक्ष राउत कारबाहीबाट बाँच्नकै लागि नेकपा ओली पक्षमा लागेको एक स्थानीयले जानकारी दिए।  अध्यक्ष राउतले सुरुदेखि नै उपभोक्ता समिति, कर्मचारी र ठेकेदारलाई थर्काएर मोटो रकम कमिसन लिँदै आएको थियो । अध्यक्ष राउतले भ्रष्टाचार गरी गाउँमा तथा काठमाडौँमा आफन्तको नाउमा करोडौँ मूल्य बराबरको जग्गा किनेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालको टोलीले गाउँपालिका अध्यक्ष राउतले लिएको ८ लाख घुस रकम सोमबार साँझ बरामद गरेको थियो भने उनी चढ्ने गाउँपालिकाको प्रदेश २–००२–००१ झ ०००२ नम्बरको गाडी र चालक वीरबहादुर मगरलाई नियन्त्रणमा लिएको थियो। गाउँपालिका अध्यक्ष राउत भने गाडीबाट कुदेर भाग्न सफल भएका थिए ।

 फरार गाउँपालिका अध्यक्ष राउतको खोजी कार्य जारी राखेको अख्तियारले बताएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology