बुटवल–नारायणगढ सडक विस्तार : मजदुर र ठेकेदारबीच सहमतिपछि काम सुरु

NAWALPUR TIMES

बुटवल–नारायणगढ सडक विस्तार : मजदुर र ठेकेदारबीच सहमतिपछि काम सुरु
IMG 20210105 114108

नारायण शर्मा/नवलपरासी — मजदुर आन्दोलनले १५ दिन रोकिएको बुटवल–नारायणगढ सडक निर्माण फेरि सुरु भएको छ । ठेकेदार, मजदुर प्रतिनिधि र जिल्ला प्रशासन कार्यालयबीच सहमतिपछि मजदुरहरू काममा फर्किएका हुन् ।

मजदुर आन्दोलनको अगुवाइ गरेका अखिल नेपाल ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष सानोकाजी डंगोलले कामदारलाई न्यूनतम सुविधाबाट वञ्चित नगर्ने सहमतिपछि सोमबार काममा फर्किएको जानकारी दिए ।

 

उनका अनुसार गत मंगलबार जिल्ला प्रशासनमा भएको छलफलमा मजदुरको न्यूनतम ज्यालामा वार्षिक एक हजार वृद्धि गर्ने, बिमा गर्ने, नियुक्ति दिने, ओभरटाइम काममा लगाउँदा डेढ गुणा बढी तलब दिने, सुरक्षा पोसाक दिने सहमति भएको थियो । त्यसलाई कार्यान्वयन गर्ने सहमतिपछि मजदुर काममा फर्किएका हुन् । सुपरभाइजरले चाहेका बेला कामबाट निकाल्न सक्ने भन्ने प्रावधान हटाइएको छ ।

बुटवल–नारायणगढ सडक विस्तारको काममा ५ सयभन्दा बढी मजदुर चिनियाँ ठेकेदारले नेपालको श्रम ऐनअनुसार न्यूनतम सुविधा नदिएको भन्दै १५ दिनदेखि आन्दोलनमा थिए । सडक विस्तारको ठेक्का पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी) का मेनेजर भूमिनन्द ढकालले मजदुर र व्यवस्थापन पक्षबीचको सहमति कार्यान्वयन गर्ने प्रतिबद्धतापछि काम सुरु भएको जानकारी दिए ।

पूर्वी नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनीबहादुर थापाले दुवै पक्षबीच काम गर्ने/गराउने बारेमा सहमति भएको र त्यसलाई दुवै पक्षले पालना गर्नुपर्ने बताए । प्रशासनले श्रम ऐनअनुसारका सहमति कार्यान्वयन गराउन पहल गरिरहने उनको भनाइ छ ।

यसअघि पनि दुईपटक जिल्ला प्रशासन कार्यालयमा मजदुर र ठेकेदार कम्पनीका प्रतिनिधिबीच सहमति भएको थियो । तर ठेकेदारले सहमति कार्यान्वयन नगरेको भन्दै मजदुरहरूले तीनपटक काम रोकिसकेका छन् । १ सय १४ किलोमिटर सडक विस्तार सुरु गरिएको दुई वर्षमा २ प्रतिशत मात्र काम भएको छ । पुराना पुल, कल्भर्ट भत्काएर नयाँ बनाउने, सडक फारकिलो पार्ने काम अलपत्र छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology