काठमाडौ । पश्चिम वायु सक्रिय भएपछि जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गरेको छ।
आइतबार बिहान नियमित बुलेटिन जारी गरेर पश्चिम नेपालमा वर्षाको सम्भावना प्रक्षेपण गरेको विभागले अपराह्न विशेष बुलेटिन जारी गर्दै ‘पश्चिमी वायुमा विकसित न्युनचापिय प्रणालीको प्रभावका कारण आज (आइतबार) देखि केही दिनसम्म देशका धेरैजसो भूभागमा बदली, वर्षा र हिमपात हुने सम्भावना रहेको’ जानकारी दिएको छ।
विभागका अनुसार यो प्रणाली बुधबारदेखि कमजोर हुँदै जानेछ।
‘आजदेखि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडि तथा तराईका थोरै भूभागहरूमा हल्का वर्षाको पनि सम्भावना रहेको छ,’ विभागले भनेको छ।
विभागका अनुसार आइतबार रातिदेखि पुस २१ गतेसम्म बागमती, प्रदेश १ र प्रदेश २ का धरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रहनेछ भने उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का हिमपात र पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने छ।
‘बदली, वर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा केही गिरावट आएर देशैभरी चिसो बढ्ने सम्भावना रहेकाले चिसोबाट बच्न सजग रहनुहुन सबैमा अनुरोध छ,’ बुलेटिनमा भनिएको छ।-फाईल तस्बिर
Facebook Comment