पाँच दिनदेखि लागेको डढेलोबाट पाथीभरा मन्दिर जोगाउन हेलिकोप्टरको प्रयोग

NAWALPUR TIMES

पाँच दिनदेखि लागेको डढेलोबाट पाथीभरा मन्दिर जोगाउन हेलिकोप्टरको प्रयोग
dadhelo 1609206325

ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग गरिएको छ। बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा पुगेको थियो।

हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरको आगो निभाएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए। उनका अनुसार विषेश प्रविधिको बकेटमा पानी ल्याएर हेलिकप्टरले आकाशबाटै आगलागी क्षेत्रमा पानी खन्याएको थियो।

उक्त हेलिकप्टरले पाँच पटक पानी खन्याएपछि आगलागीबाट मन्दिरसहित त्यहाँका संरचना बचेका छन्। अब मन्दिर आगलागीको जोखिमबाट मुक्त रहेको बताइएको छ।

स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हरसम्भव प्रयास गर्दासमेत डढेलो नियन्त्रणमा आएको छैन। डढेलोले मन्दिर नै जोखिममा परेपछि हिजो सिम्रिक एयरको हेलिकप्टर झिकाइएको थियो।

सिम्रिक एयरका पाइलट सुरेन्द्र पौडेलका अनुसार हेलिकप्टरबाट पानी खसालेर आगो नियन्त्रण गरिएको यो पहिलो पटक हो । “हामीसँग तालिमप्राप्त जनशक्ति थिए, विशेष प्रविधिको बकेट राखेर पानी निकाल्ने र खसाल्ने तालिम बर्सेनि भइरहेको हुन्छ, पहिलो पटक हामीले आगो निभाउन उक्त प्रविधि र जनशक्तिलाई प्रयोगमा ल्याएका हौँ”, उनले भने।

त्यहाँ लागेको डढेलो गएको शनिबार साँझदेखि आंशिकरूपमा नियन्त्रणमा आएको थियो। तर, सोमबार बिहान पुनः एक्कासि फैलिएर मन्दिर परिसरमा नै पुगेको थियो। अहिले पाथीभराको मन्दिर आगलागीको जोखिममा नरहे पनि जङ्गलमा लागेको आगो पूर्णरूपमा नियन्त्रणमा आएको छैन।

बिहीबारदेखि लागेको डढेलोका कारण ठूलो क्षेत्रफलको जङ्गल नष्ट भएको छ भने सो क्षेत्रमा रहेका दर्जनौँ गोठसमेत जोखिममा परेका छन्। सिरिजङ्घा गाउँपालिकामा पर्ने सिकैचास्थित ढाँडे साथै हर्कटे क्षेत्रमा रहेका गोठहरु जोखिममा छन्।

पाथीभरा क्षेत्रमा दुर्लभ वन्यजन्तु रेडपाण्डाको बासस्थान समेत छ। यो जनावर पनि संकटमा परेको छ। त्यस्तै आगलागीले फेदी बस्तीका बासिन्दाले प्रयोग गर्ने खानेपानीको पाइपसमेत जलेर नष्ट भएपछि त्यहाँका बासिन्दालाई समस्या भएको छ ।
थप सामग्री : https://www.himalkhabar.com/news/121751

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology