आज हरिबोधनी एकादशी : घरघरमा तुलसी विवाह गरिदै

NAWALPUR TIMES

आज हरिबोधनी एकादशी : घरघरमा तुलसी विवाह गरिदै
1606270089254

काठमाडौं, मंसिर १० । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र वेदमा आधारित भई कर्म गर्नेले बिहीबार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम मङ्सिर १० गते बुधबार एकादशी तिथि ५९ घडी नाघी ११ गते बिहान अरुणोदयकालमा पनि तिथि रहेको बताउन्छन् । दशमी र एकादशी तिथि पहिलो दिन ५६ घडी नाघेमा दोस्रो दिन पनि हुन्छ भन्ने शास्त्रीय मत छ ।

एकादशी तिथि ५६ घडी नाघेका दिन स्मृतिलाई आधार मानी कर्म गर्ने अर्थात् स्मार्तले एकादशी मनाउँछन् । यसै कारण मङ्सिर १० गते बुधबारलाई स्मार्तानां एकादशी व्रत भनी समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको उनले बताए।

वेदमा आधारित भई कर्म गर्नेले अरुणोदयकालमा एकादशी तिथि परेको दिन तिथि मनाउने गर्छन् । सूर्योदय हुनुअघिको चार घडीलाई अरुणोदय भनिन्छ । यो एकादशी यस वर्ष मङ्सिर ११ गते बिहीबार परेको समितिले जनाएको छ । जसलाई वैष्णवानां एकादशी अर्थात् वैष्णवको एकादशी भन्ने गरिएको छ । यहाँ विशेष टीका लगाउनेलाई मात्र वैष्णव भनी बुझ्न नहुने अध्यक्ष गौतमले बताउनुभयो । समितिले स्वीकृति दिएका पात्रोमा पनि यही उल्लेख गरिएको छ ।

हरिबोधनी एकादशीको महत्व

कार्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्नुहुने भगवान् विष्णु यसै दिन जागा हुनुहुने शास्त्रीय मान्यता छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन् । हरिबोधनी एकादशीका दिन तुलसीलाई विष्णुसँग विवाह गरी विशेषरुपमा मनाउने गरिन्छ ।

वैदिक पात्रोमा उल्लेख गरिने १६ तिथिमध्ये एकादशीलाई महत्वपूर्ण तिथिका रुपमा मनाइन्छ । हरिबोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल र फलफूल खाने गर्छन् । चतुर्मासाभर पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशीदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म वैदिक यज्ञ गरी समापन गरिन्छ ।

यस अवसरमा उपत्यकाका चार नारायण मन्दिरमा विशेष मेला लाग्ने गर्छ । भक्तपुरको चाँगुनारायण, ललितपुरको गोदावरीस्थित विशङ्खुनारायण, काठमाडौँको दक्षिणकाली नगरपालिकामा रहेको शेषनारायण र नागार्जुनमा रहेको इचङ्गुनारायणमा एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्छ । यस अवसरमा चार नारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने र मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण चार नारायणमध्ये केहीमा मात्र मेला लाग्ने जनाइएको छ । भक्तजनलाई घरघरमै बसी नारायणको पूजा आराधना गर्न धर्मशास्त्रविद् र सम्बन्धित मन्दिर व्यवस्थापन समितिले आह्वान गरेका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology