गणेशमान सिंहको २३ औँ स्मृति दिवस मनाइँदै

NAWALPUR TIMES

गणेशमान सिंहको २३ औँ स्मृति दिवस मनाइँदै
1600408477.ganeshman singh

काठमाडौं। प्रजातन्त्र पुनःस्थापनाका लागि भएको २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।

 

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्‍न सफल भएका थिए। २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री गरेको आग्रहमा सिंहले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए।

२४ कात्तिक १९७२ मा काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको निधन २ असोज २०५४ मा भएको हो। गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए।

 

राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि सिंहलगायतलाई तत्कालीन सरकारले जेल हाल्यो। २००७ सालअघि नै भद्रगोल जेल फोडेर भाग्न सफल  सिंह प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय भए।

 

जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे। केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ ।

 

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरेका थिए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology