कांग्रेस महाधिवेशन : देउवाविरूद्ध निधिले उम्मेदवारी देलान् ?

NAWALPUR TIMES

कांग्रेसमा भावी नेतृत्वका बहस चलिरहेकै बेला ३० साउनमा विमलेन्द्र निधि  पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगे । १४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा देउवा निवास पुगेका निधिले १३ औँ महाधिवेशनका क्रममा आफूलाई दिइएको प्रतिबद्धता स्मरण गराए ।

त्यतिबेला निधीले देउवालाई भनेका थिए, ‘अहिले महामन्त्री समेत नउठेर तपाईंलाई सभापति जिताउन नै केन्द्रित हुन्छु । तपाईंले नजिते हामीले जित्नुको अर्थ पनि रहँदैन । अर्को निर्वाचनमा मलाई सहयोग गर्नुपर्छ ।’ निधिको यो प्रस्तावलाई देउवाले स्वीकार गरेको उनीनिकट नेताको दाबी गर्छन् ।

त्यही  कुरा स्मरण गराउन बूढानिलकण्ठ पुगेका निधीलाई देउवाले फेरि अर्को आश्वासन दिए । यो पटक आफूलाई नै सघाउन र १५ औँ महाधिवेशनमा आफ्नो टिमबाट निर्विकल्प अघि सारिने उनले प्रस्ताव राखे । तर, देउवाको प्रस्ताव निधिलाई चित्त बुझेन । बैठकबाट निस्कने बेलामा निधिले भने, ‘यसपटक म जसरी पनि उम्मेदवारी दिन्छु, यसमा तपाईंंले सहयोग गर्नुहुन्छ भन्नेमा विश्वस्त छु ।’

निधिले म उम्मेदवार भनेपछि संस्थापन पक्षमा मात्रै होइन त्यसको असर संस्थापक इतरमा पनि परेको छ ।

निधिले पार्टी सभापतिमा आफ्नो उमेद्‍वारी दाबी गरेसँगै  नेपाली कांग्रेसमा महाधिवेशन केन्द्रित दौडधुप र तरङ्ग सिर्जना भएको छ । देउवा लामो समयदेखि असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका नेता थिए । निरन्तर देउवालाई निधिको साथ रहेको थियो । देउवालाई निरन्तर साथ दिएका नेताहरुमा उनै पर्छन् । पार्टी विभाजन २०५९ देखि पार्टी एकीकरण २०६४ सम्म र त्यसपछि पनि निधीको सहयोग देउवालाई  रह्यो । विगतमा देउवाको साथमा रहेका प्रकाशमान सिंह, विजयकुमार गच्छदार, नारायण खड्का, बलबहादुर केसी, दीपकुमार उपाध्याय, मिनेन्द्र रिजाल लगायतका नेताहरु सबै पहिले देउवा गुटमा रहेकोमा पछि गुट परिवर्तन गरेका थिए ।  यी सबै नेताले देउवाको साथ छोड्दा पनि निधिको साथ निरन्तर रहेको  थियाे । यसै कारण अब निधिलाई देउवाले साथ दिनु पर्ने उनी पक्षका नेताहरुको दाबी छ ।

लामो समय असन्तुष्ट पक्षको अगुवाई गरेर कांग्रेस नेतृत्वमा पुगेका देउवा पनि यसअघिका नेताहरुले जस्तै पुन: आफू नै सभापति दोहो¥याउने याेजनामा छन् । देउवाको तयारी र संगठन विस्तार पनि त्यतातर्फ केन्द्रित देखिन्छ । तर, फेरी पद दोहोराउने लोभ देखाएका सन्दर्भमा निधिले उम्मेदवारी घाेषणा गरेपछि संस्थापन पक्षमा मात्रै होइन त्यसको असर संस्थापक इतरमा पनि परेको छ ।

राजनीतिक विश्‍लेषक गेजा शर्मा वाग्ले  निधि सभापतिमा चुनाव लड्ने घोषणाले देउवालाई राजनीतिक रुपमा ‘मनोवैज्ञानिक झड्का’ लागेको बताउँछन् । वाग्लेले चुनाव आउन अझै लामो समय भएका कारण अहिले नै समिकरण कस्तो बन्छ भन्ने अवस्था नरहेता पनि संस्थापन पक्षमा निधिको दाबी र पौडेल-कोइराला पक्षबाट शंशाक तथा शेखर कोइराला र प्रकाशमान सिंहले पनि सभापतिमा दाबी गर्नुले पुस्ता हस्तान्तरणलाई सहयोग पुगेको उल्लेख गर्दै भन्छन, निधीकाे घाेषणाले देउवालाई राजनीतिक रुपमा झड्का लागेकाे छ । साथै, नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने अवसर पनि बनेकाे छ ।

निधी दुई पटक सामान्य प्रशासन मन्त्रीका साथै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, शिक्षा मन्त्री, भौतिक पूर्वधार तथा यातायात मन्त्री र पार्टीको नेतृत्व गर्दै गृहसहित उपप्रधानमन्त्री भइसकेका छन् । उनी पार्टीमा उपसभापतिको जिम्मेवारीमा अहिले रहेकाले पनि सभापतिकाे उम्मेदवारी स्वभाविक ठान्छन् केही नेताहरु । निधि निकटमा एक केन्द्रिय सदस्यका अनुसार, अहिले निधिको पक्षमा वौद्धिक नेताका रुपमा पहिचान बनाएका प्रदिप गिरि र महेश आचार्य समेत लागेका छन् । गिरिले त अभियान नै चलाएका छन् ।

१२ वर्षकाे उमेरमा जेल परि जेलबाट नै एसएलसी दिएका निधि २४ वर्षको उमेरमा नेविसंघको सभापति भएका थिए, त्यो पनि कांग्रेस संस्थापक बीपी कोइरालाको  मन जितेर ।

देउवालाई निरन्तर साथ दिएका निधि सभापतिको उम्मेदवार बन्दा संस्थापन इतरका पक्षमा पनि पौडेलको बिकल्पमा थप बल पुग्ने पौडेल पक्षकै नेताको स्वीकारोक्ति छ । यसले प्रकाशमान सिंह, शंशाक कोइराला, शेखर कोइरालाको उम्मेद्वारीमा सहयोग पुग्ने देखिन्छ ।

सभापतिका प्रमुख दाबेदार शशांकनिकट रहेका कांग्रेस नेता डा.मिनेन्द्र रिजाल देउवा उम्मेदवार नबनेर निधिलाई सपोर्ट गरेको अवस्थामा नेतृत्व हस्तान्तरण गर्न नचाहने प्रवृत्तिमा ठूलो परिवर्तन आउने ठान्छन् । त्यस्तै निधि–देउवा एकै पटक सभापतिमा उम्मेदवार हुँदा गुणात्मक प्रतिस्पर्धा बढ्ने रिजालको दाबी छ ।

निधिले आफू निकटका नेताहरुसँग आफू सहमतिको वातावरण बनाउने प्रयासमा रहेको बताएका छन् । पहिलो चरणमा सहमतिको सभापतिका लागि देउवासँगै सभापतिका आकांक्षा देखाएका पौडेल, शशांक, शेखर, प्रकाशमानसँग विभिन्न तबरबाट छलफल अघि बढाएको बताएका छन् । त्यस्तै, सहमतिको सभापति हुन नसक्दा संस्थापन पक्षबाट आफू उम्मेदवार बन्ने । त्यसो पनि हुन नसक्दा पनि आफू सभापतिमा दाबी गर्ने र सोही समयमा टिम बनाउने गरी तयारी गरेकाे बताएका छन् । उनको साथमा अहिले प्रदिप गिरि, नरहरी आचार्यका साथै आनन्द ढुंगाना, फर्मुल्लाह मन्सुर, उमाकान्त चौधरी, महेन्द्र यादव,  नारायण खड्का, हरीप्रसाद नेपाल, किरण पौडेल लगायतका नेताको साथ रहेको छ ।

संस्थापन पक्षका केही नेताहरुको बुझाइ अन्ततः निधिले देउवालाई नै सपोर्ट गर्ने छ । ‘अहिले धेरै नेताले दाबी गर्नुभएको छ तर धेरैले आफ्नो दाबी गर्दै गर्दा उपसभापतिको भूमिकामा रहेका निधिले भन्नु स्वभाविक हो’ देउवा निकट ती नेता भन्छन् ‘अन्ततः निधिले देउवालाई नै सहयोग गर्ने हो ।’

निधिनिकट नेताहरु भने देउवाका सहयोगी भए पनि ‘एस म्यान’ नभएकोले निधि अघि बढ्ने दाबी गर्छन् । ‘नागरिकता विधेयकका विषयमा निधिले आफ्नो अडान कायम गर्नुनै भएको हो, गृहमन्त्री हुने समयमा पनि देउवाले नै भनेको गर्नु पर्दा राजीनामा समेत दिन तयार हुनु नै भएको हो ‘ ती नेताले भने,   ‘निधि आफ्नो अडान कायम राख्ने नेता हो । विगतमा आफ्नो दाबी थिएन अहिले दाबी हुँदा देउवालाई दबाब छ । ‘

१३ औँ महाधिवेशनबाट तेस्रो धार स्थापित गरेको कृष्णप्रसाद सिटौला पक्ष निधिको पक्षमा भने देखिदैन  । निधि पक्ष नेता भन्छन् ‘निधिले सभापति उठ्नु भएका त्यो स्वभाविक देखिने छ तर अब देउवा पक्षमा सिनियर हुँदा-हुँदै पनि दोस्रो तहका नेताहरु जस्तै फेरी उपसभापतिमा चित्त बुझाउनुपर्ने हुन्छ । उहाँले कार्यबाहक सभापतिको भूमिका खोजेको बुझिन्छ । ‘

राजनीतिक विश्लेषक वाग्ले दोस्रो तहमा नेतृत्व हस्तान्तरण भएर युवाको साथ लिएर अघि बढ्नुपर्ने बहस चलेको सन्दर्भमा निधि स्वभाविक उम्मेदवार भए पनि अहिलेको समिकरण के हुन्छ र उम्मेदवार को-को व्याक हुन्छन् भन्नेले अर्थ राख्ने बताउँछन् ।

कांग्रेस संस्थापक महेन्द्रनारायण निधिपुत्र भएकाले पार्टीमा पुरानाे लिगेसीले पनि उनलाई फाईदा पुग्ने देखिन्छ ।

त्यसाे त बुवाको बैचारिक तथा व्यवहारिक लिगेसीलाई उहीँ रुपमा अघि बढाउन नसकेको आरोप शंशाक र प्रकाशमानलाई जस्तै उनलाई पनि छ ।

महेन्द्रनारायण निधिले कांग्रेसमा मुख्यतय ४ विशेषतका नेताका रुपमा चिनिन्छन् । त्यागी, अहिंसावादी, राष्ट्रवादी र स्वच्छ छवि । उनी कहिले सरकारमा जान नरुचाएर पार्टीलाई नै सबल बनाउने काममा केन्द्रित भए । भोक हड्ताल बसेर शासकलाई दबाब दिएको, कठिन परिस्थितिमा धेरै नेताहरु भारततर्फ लागेको अवस्थामा आफ्नै देशमा बसेर संघर्ष गरेको तथा लामो राजनीतिक जीवन आर्थिक अनुशासनको हिसावले सबैभन्दा स्वच्छ देखिएको बताइन्छ । यी गुणमा निधिले निरन्तरता दिन नसेको आरोप उनीमाथि छ ।

सधै देउवालाई साथ दिएका निधिले सभापतिको उम्मेदवार उठ्ने दाबी गरेपछि कांग्रेसमा नेतृत्व हस्तान्तरणको बहस थप पेचिलाे बनेको विश्लेषकहरू बताउँछन् ।

यद्यपि कांग्रेसमा भविष्य नदेखेर तराईका काँग्रेस नेताहरु अधिकांशले पार्टी छोड्दा निधि र डा. रामवरण यादव कांग्रेसमा नै बसेर तराईको जनमत जोगाएको जस उनीमाथि छ । २०६२/६३ जनआन्दोलनमा तराईको राजनीतिमा रहेका कांग्रेसका नेताहरु महन्थ ठाकुर, जेपी गुप्ता, विजय गच्छदारलगायतका नेताहरुले कांग्रेस त्यागेर मधेश केन्द्रित दल खोलेका थिए । यस्तो अवस्थामा पनि निधि लगायतका केही नेताहरुले कांग्रेसको भोट बैकका रुपमा हेरिने तराईको जनमत जोगाएको उनीनिकट नेताहरुको दाबी  छ ।

निधि उठेको सन्दर्भमा देउवा र निधिको समवन्धमा ब्रेक लाग्न सक्ने आंकलन पनि गर्न थालिएको छ । देउवा व्याक हुने अवस्थामा भने उनको रोजाइमा निधि नभई शशांक हुने भएकाले पनि उनीहरू बीचको सम्वन्धमा ब्रेक लाग्ने देखिन्छ । तर, निधि नउठेमा भने देउवा निधिसँगै हुनेछन् ।

सधै देउवालाई साथ दिएका निधिले सभापतिको उम्मेदवार उठ्ने दाबी गरेपछि कांग्रेसमा नेतृत्व हस्तान्तरणको बहस थप पेचिलाे बनेको विश्लेषकहरू बताउँछन् । भागवत भट्टराई/शिला पत्र

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology