स्थानीय तहको निर्वाचन बैशाखमा गर्न सत्ता गठबन्धन तयार

NAWALPUR TIMES

स्थानीय तहको निर्वाचन बैशाखमा गर्न सत्ता गठबन्धन तयार
sarbadaliya baithak

काठमाडौं। स्थानीय निकायको निर्वाचन वैशाखभित्रै गर्न सत्ता गठबन्धनमा आवद्ध दल तयार भएका छन्। मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको हो।

बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले संवैधानिक र कानुनी रुपमा तोकिएकै मितिभित्र निर्वाचन गर्नुपर्छ भन्ने विषयमा मोटामोटी सहमति भएको बताए।

‘संवैधानिक रुपमा तोकिएको मितिभित्र चुनाव गर्नुपर्छ भन्ने विषयमा मोटामोटी सहमति भएको छ,’ गुरुङले डिसी नेपालसँग भने, ‘निर्वाचनको मिति तोक्ने जिम्मा क्याविनेटको हो, त्यसअघि सबै दलका शीर्ष नेताबीच छलफल गरेपछि सरकारले निर्णय गर्ला।’

कोरोना महामारी कम गर्ने विधि अपनाउँदै तोकिएको मितिमा चुनाव गर्ने विषयमा गठबन्धन सकारात्मक बनेको हो। पछिल्लो समय सरकारमाथि स्थानीय तह निर्वाचनको मिति तोक्न चौतर्फी दबाव बढेको थियो।

आजको बैठकमा सबै शीर्ष नेताहरु सहभागी नभएका कारण बैठक दुई दिनपछि फेरि बस्ने बताइएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव कोविड संक्रमणका कारण बैठकमा उपस्थिति भएनन्।

यसअघि सोमबार गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले ७ असोज २०७९ देखि स्थानीय तहमा नेतृत्व नरहने भएकाले तत्काल अद्यावधिक निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेको थियो भने स्थानीय तहमा प्रतिनिधि रिक्त हुन नदिने गरी निर्वाचन गर्ने हो भने माघको पहिलो साताभित्र निर्वाचनको मिति तोक्नुपर्ने निर्वाचन आयोगले भनेको छ।

यही बेला मंगलबार बसेको गठबन्धनको बैठकले निर्धारित मितिमै निर्वाचन गर्न सहमत भएको हो। सरकारले निर्वाचन गर्न आनाकानी गर्न थालेको आरोपकाबीच गठबन्धन बैठकमा दलहरूबीच सो सहमति भएको हो।

तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको अवधि क्रमश ७ असार २०७९, २१ असार २१ र ७ असोजमा सकिँदै छ। यसलाई मध्यनजर गरेर आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आउँदो माघको पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसक्नुपर्ने सुझाव दलहरूलाई दिइसकेका छन्।

आयोगले १४ र २० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने गरी सरकारलाई सिफारिस गरिसकेको भए पनि यसबारे कुनै निर्णय भएको छैन। तर, तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनुपर्नेमा प्रमुख प्रतिपक्षी दल एमालेले पनि जोड दिइरहेको छ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology