मनसुनी वायुको प्रभाव कमजोर हुने

NAWALPUR TIMES

मनसुनी वायुको प्रभाव कमजोर हुने

काठमाडौं । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले केही दिनयता देशका अघिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

उक्त मौसमी प्रणालीको प्रभावले विगत तीन दिनदेखि देशभर सामान्यदेखि पूर्ण बदली रहनाका साथै सबैजसो भूभागमा हल्कादेखि मध्यम तथा केही क्षेत्रमा भारी वर्षा भएको छ ।

केही दिनदेखिको निरन्तर वर्षा र बदलीले देशका कतिपय क्षेत्रमा प्राकृतिक विपत्ति तथा मानवीय क्षतिका दुःखद् घटना पनि भए । पछिल्लो तीन दिन लगातार बदली र वर्षा भयो कतिपय क्षेत्रमा भारी\थेरै भारी वर्षासमेत भएको छ ।

यसै सन्दर्भमा मनसुनी प्रभाव र मौसम सुधारका सवालमा राखिएको जिज्ञासामा जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलको भनाइमा अघिल्ला दिनको तुलनामा मनसुनी वायुको कम प्रभाव रहने तर मनसुनी वायुको प्रभाव कमजोर मात्रामा भए पनि केही दिन रहिरहने छ ।

उहाँको भनाइ छ, “मनसुनी वायुको सक्रिय प्रभावले तीन दिनयता निरन्तर वर्षा र कतिपय स्थानभा भारी वर्षासमेत भएको छ, अबका दिनमा पनि मौसममा कहिले सुधार आउँछ भनेर यकिन भन्न सकिने अवस्था नरहेको र अघिल्ला दिनको तुलनामा मनसुनको कम प्रभाव हुने विश्लेषण गरिएको छ ।”

मौसमविद् पोखरेलका अनुसार मनसुनको कम प्रभाव रहे पनि अझै देशका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। अबका दिनमा दिउँसो र साँझपख मौसम खुले पनि खण्डितरूपमा पुनः बदली र वर्षाको सम्भावन रहिरहन्छ ।

काठमाडौँ उपत्यकाको हकमा विगत तीन दिनदेखि आंशिकदेखि पूर्ण बदली र हल्कादेखि मध्यम वर्षा भएको छ । महाशाखाको विवरणअनुसार आज काठमाडौँमा ६६ मिलीमिटर वर्षा भएको छ ।

हिजो शुक्रबार ४६ मिलीमिटर वर्षा भएको थियो । सबैभन्दा धेरै सिमरामा १५३, विराटनगरमा १०७, जनकपुरमा ८५, ताप्लेजुङमा ५८, भैरहवामा ५३ र पोखरामा ५५ मिलीमिटर वर्षा भएको छ ।

आज काठमाडौँको अधिकतम २३ दशमलव चार र न्यूनतम तापक्रम १९ दशमलव आठ डिग्रि सेल्सियस रहेको छ । अहिले प्रदेश नं १, २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक\दुई स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहिरहनुका साथै प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि यही मौसमी प्रणाली कायम रहनेछ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology