प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : अझै ‘पर्ख र हेर’ को अवस्थामा कांग्रेस

NAWALPUR TIMES

प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : अझै ‘पर्ख र हेर’ को अवस्थामा कांग्रेस
Bishwa Prakash Sharma

काठमाडौँ, २२ फागुन । नेकपाको दाहाल–नेपाल खेमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीमा रहे पनि कांग्रेस अझै ‘पर्ख र हेर’को अवस्थामा छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध रहे पनि कांगे्रसले आगामी सत्ता समीकरणबारे निर्णय नलिएको हो। सरकारमा जाने कि नजाने भन्नेमै नेताबीच फरक–फरक धारणा आइरहेका छन्। अधिकांश नेता भने सरकारमा जाने भए कांग्रेसकै नेतृत्व हुनुपर्ने पक्षमा देखिएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा सम्भावित सत्ता समीकरण, संसद्मा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे पार्टीका नेताहरूसँग निरन्तर छलफलमा छन्। सभापति देउवाले शुक्रबार संसदीय दलको बैठकमा सांसदका कुरा सुने। देउवाले बिहीबार पदाधिकारी, पूर्वपदाधिकारीसहित संसदीय फाँटको जिम्मेवारीमा रहेका नेताहरूसँग छलफल गरेका थिए। देउवाले सत्ता समीकरणबारे निर्णय गर्नुपर्ने बेला आइनसकेको बताए। उनले बैठकको सुरुमै सांसदहरूलाई सत्ता समीकरणकाबारे नभई प्रतिपक्षी दलका रूपमा संसद्मा खेल्नुपर्ने भूमिकाबारे धारणा राख्न आग्रह गरेका थिए।

बैठकमा बोल्ने सबैजसो सांसदले सरकार गठनकै बारेमा बोलेका थिए। अधिकांशले सरकारमा जाने भए कांग्रेसको नेतृत्व हुनुपर्नेमा जोड दिए। ‘कांग्रेसकै नेतृत्वमा सरकार बन्छ भने सरकारमा जानुपर्छ भन्ने नै सबै सांसदको राय थियो’, सांसद डा. डिला संग्रौलाले अन्नपूर्ण पोस्ट्सँग भनिन्, ‘निर्णय नै त भएन तर सबैको सुझाव सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्छ भन्ने नै थियो।’

सांसदहरूले ओलीसँग सत्ता सहकार्य गर्न नहुनेमा जोड दिए। उनीहरूले कांग्रेस निरन्तर आन्दोलनमा रहेकाले यही सरकारसँग समीकरण गर्न नैतिक रूपमा पनि नमिल्ने तर्क गरे। ‘ओली सरकारसँग मिलेर जाँदा हामीले जनतालाई के जवाफ दिने ?, सांसद गगन थापाले भने, ‘ओलीसँग मिलेर सरकार बनाउने कुरा सोच्न पनि सकिन्न।’ उनले पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएर निष्कर्षमा पुग्न सभापति देउवालाई सुझाव दिए। यो खबर आजको अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology