प्रधानमन्त्रीलाई काङ्ग्रेस प्रवक्ताको प्रश्न : विप्लवका हतियार खोई ?

NAWALPUR TIMES

प्रधानमन्त्रीलाई काङ्ग्रेस प्रवक्ताको प्रश्न : विप्लवका हतियार खोई ?
Bishwa Prakash Sharma

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार-विप्लव सहमति हुँदा उनीसँग भएको हतियार कहाँ छन् भन्दै प्रश्न उठाएका छन् । शर्माले ट्‌विट गर्दै शान्तिप्रक्रिया र विद्रोहीसँगको सहमति हुँदा हतियार व्यवस्थापन प्रमुख मुद्दा हुनुपर्नेमा त्यही कुरा छुटाएको बताएका हुन् ।

“प्रचण्ड आउँदा ‘खोलाले बगायो’ थोरै हतियार विप्लव आउँदा पूरै ?,” शर्माले प्रश्न गरेका छन्, “राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ ?” उनले सहमतिमा महत्त्वपूर्ण विषय नै छुटेको संकेतसहित प्रधानमन्त्रीलाई मेन्सन गरेर भनेका छन्, “सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ ।”

सरकार र नेपाल कम्युनिस्ट पार्टी नेकपाबीच तीनबुँदे सहमति भएको छ । त्यो बुँदामा उनले चौथो बुँदा किन लेखिएन भन्दै गम्भीर सवाल उठान गरेका हुन् ।

नेपाली कांग्रेसको बुधबार बसेको पदाधिकारी बैठकमा पनि सरकार-विप्लव सहमति सकारात्मक भए पनि प्रधानमन्त्रीले सहमतिबारे राष्ट्रिय दललाई समेत विश्वासमा लिन नखोज्नुले शंका बढाएको ठहर गरेको थियो । राम्रो काम पनि ठीक ढंगले गर्नुपर्ने धारणा बनाएको कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान र बहुलवादको परिधिभन्दा बाहिर तीनबुँदेको विश्लेषण हुन नहुने बताएको छ ।

“विप्लवसँग मूलधारको राजनीतिमा ल्याउन भएको सहमतिको कांग्रेसले स्वागत गरिसकेको छ, आज पदाधिकारी बैठकबाट पनि स्वागत गरेको छ,” प्रवक्ता शर्माले बिहीबारको पदाधिकारी बैठकपछि भने, “तर, १० वर्षे सशस्त्र द्वन्द्वपछि कांग्रेसले माओवादीसँग सहमति गर्दा सबै दललाई विश्वासमा लिएको थियो । अहिले प्रधानमन्त्रीले गरेको सहमति हामीले प्रेसमार्फत थाहा पाइरहेका छौं ।”

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology