नेपाल-भारत सीमा नाकामा छैन हेल्थ डेस्क

NAWALPUR TIMES

नारायण शर्मा/पूर्वी नवलपरासी — भारतसँग सिमाना जोडिएको त्रिवेणी नाकामा कोरोना संक्रमणबाट जोगिन चेकजाँचको व्यवस्थाका लागि अझै हेल्थ डेस्क स्थापना हुन सकेको छैन ।

भारतीय सिमानामा हेल्थ डेस्क राख्न केन्द्र र प्रदेश सरकारले चासो नदेखाएको र स्थानीय पालिकासँग दक्ष जनशक्ति नभएकाले समस्या थपिएको छ । भारतसँग जोडिएको यो खुल्ला सिमानामा हेल्थ डेस्क नहुँदा संक्रमणको जोखिम दिनहुँ बढ्दो छ ।

यो नाकाबाट दैनिक सयौँको संख्यामा सर्वसाधारण भारत-नेपाल आउजाउ गर्छन् । यो नाका विनयी त्रिवेणी गाउँपालिका-७ मा पर्दछ । नाका खुल्लै भए पनि त्यहाँबाट भित्रिनेहरूको स्वाब लिन नसक्दा कोरोना संक्रमणको जोखिम दिन प्रतिदिन बढ्दो छ ।

विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर जिसी भारतसँग खुल्ला सिमाना रहेको त्रिवेणी नाकामा जाउआउ गर्नेहरूबाट कोरोना संक्रमण सर्ने सम्भावना हुँदा हुँदै पनि पालिकामा स्वास्थ्यकर्मीको संख्या न्यून भएका कारण हेल्थ डेस्क स्थापना गर्न नसकिएको बताउँछन् ।

‘चाँडै हेल्थ डेस्क राख्नुपर्छ भन्ने लागेको छ । स्वास्थ्यका कर्मचारीको व्यवस्थापन मिलाउदै छौँ‚’ जिसी भन्छन्‚ ‘अब चाँडै स्वास्थ्यकर्मीको टोलीसहित त्रिवेणी नाकामा हेल्थ डेस्क स्थापना गर्छौं ।’ गाउँपालिकामा कोरोनाविरुद्धको खोपमा सबै कर्मचारी खटिएकाले त्यो सकेर त्रिवेणीमा पठाउने गरी व्यवस्था मिलाउने जिसीले सुनाए । गण्डकी प्रदेशसँग जोडिएको एकमात्र नाकामा प्रदेश सरकारले नै हेल्थ डेस्क राख्नका लागि कर्मचारी पठाउन पटक पटक माग गर्दै आएपनि प्रदेशबाट भने बेवास्ता हुँदै आएको जीसीले सुनाए । भारतसँग जोडिएको र बढी संवेदनशील नाकामा केन्द्र र प्रदेश सरकारको चासो नरहेकाले दक्ष जनशक्तिसहितको सेवा दिन समस्या परेको गाउँपालिकाको भनाइ छ ।

स्थानीय बासिन्दाले त्रिवेणी नाकाबाट नेपाल-भारत आउजाउ गर्नेको रेकर्ड राख्ने, ज्वरो नाप्ने र स्वाब लिने व्यवस्थाका लागि हेल्थ डेस्कको आवश्यकता औंल्याउँदै आएका छन् । ती सबै व्यवस्था २४सै घन्टा सुचारु राख्न कम्तीमा ९ जना स्वास्थ्यकर्मीसहितको टोली खटाउनुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

भारत र गण्डकी प्रदेशको दक्षिणी सिमाना जोडिएको एउटै नाकामा समेत व्यवस्थापन हुन नसक्दा कोरोना संक्रमणको जोखिम उच्च रहेको छ । स्वास्थ्यकर्मी नहुँदा त्रिवेणी नाकामा खटिएका सुरक्षाकर्मीहरूसमेत कोरोना संक्रमणको जोखिममा परेका छन् ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology