नागरिक एपबाटै अनलाइन भुक्तानी सुरु हुँदै, इच्छुक सेवाप्रदायक जोडिन सक्ने

NAWALPUR TIMES

नागरिक एपबाटै अनलाइन भुक्तानी सुरु हुँदै, इच्छुक सेवाप्रदायक जोडिन सक्ने
Nagarik app techpana iphone thumbnail

सरकारले नागरिक एपमा भुक्तानी प्रणाली जोड्ने योजना योजना ल्याएको छ । एपबाटै सेवा शुल्क, दस्तुर, जरिवाना वा अन्य कुनै रकम तिर्न वा बुझाउन सकिने गरी सरकारले प्रक्रिया अघि बढाएको हो ।

यसका लागि एपमा विद्युतीय भुक्तानी सेवाप्रदायक एवं भुक्तानी सेवा सञ्चालक संस्थाको प्रणाली जोड्ने तयारी भएको छ ।

बिहीबार एक सूचना जारी गर्दै राष्ट्रिय सूचना प्रविधि केन्द्रले एक साताभित्र विद्युतीय भुक्तानी सेवा प्रदायक एवं भुक्तानी सेवा सञ्चालकलाई आवद्ध हुन आग्रह गरेको छ ।

‘नागरिक एपमार्फत सेवा शुल्क, दस्तुर, जरिवाना वा अन्य कुनै रकम तिर्न वा बुझाउन विद्युतीय भुक्तानी सेवा आवश्यक भएकोले नेपाल सरकारद्वारा जारी नागरिक एप (सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७८) को दफा ४ को उपदफा ४ मा व्यवस्था भएबमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त इच्छुक विद्युतीय भुक्तानी सेवाप्रदायक एवं भुक्तानी सेवा सञ्चालक संस्थाहरुलाई एपमा आवद्ध हुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।

सरकारले सम्भव भएसम्मका सबै सार्वजनिक सेवा एउटै एपमार्फत उपलब्ध गराउने उद्देश्यका साथ ‘नागरिक एप’ सञ्चालनमा ल्याएको छ ।

पछिल्लो समय विभिन्न सरकारी सेवा क्रमशः अनलाइनमार्फत उपलब्ध गराउन थालिएको छ । तर सेवा लिने माध्यम फरक-फरक हुँदा सेवाग्राहीलाई झन्झट हुने गरेको भन्दै सरकारले सबै सेवालाई समेट्ने गरी नागरिक एप ल्याएको हो ।

सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ को अन्त्यसम्म ४२ वटा सरकारी सेवा नागरिक एपमार्फत नै लिन सकिने बनाउन लागेको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology