डिक्कीमा छरपस्ट २७ लाख लिएर हुइँकिएको त्यो कार

NAWALPUR TIMES

डिक्कीमा छरपस्ट २७ लाख लिएर  हुइँकिएको त्यो कार
IMG 20210312 110238 1 L2j4rxknFs

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरलाई एउटा सूचना आयो जुवातास खेलाई सोबाट आर्जन गरेको नगद रुपैयाँ लिएर एउटा गाडी आउँदैछ । २६ गते अन्दाजी ८ बजे रातिको समयमा पेप्सीकोलाबाट भक्तपुरको सानोठिमी तर्फ आउँदै गरेको बा. २१ च ३८३९ नं.को नीलो रंगको कारलाई प्रहरीले चेकजाँच गर्न रोक्यो ।

परिसर भक्तपुरमा कार्यरत प्रहरी निरीक्षक शशीघर शर्मा र सुदन केसीको कमाण्डमा छुट्टाछुट्टै टोली परिचालन गरी उक्त गाडीको खोजी गरिरहेको थियो । कारलाई रोकी चेकजाँच गर्ने क्रममा बिनोद तामाङले उक्त गाडी चलाई ल्याएका थिए । महानगरीय प्रहरी परिसरका सूचना अधिकारी दिपक गिरीका अनुसार गाडीमा अन्य व्यक्तिहरु कोही थिएनन् ।

तामाङ र सवार गाडीलाई चेकजाँच गर्दा गाडीको पछाडिको डिक्कीमा छरपस्ट अवस्थामा हजार, पाँच सय र एक सय दरका नेपाली नोटहरु भेटिए । रुपैयाँका बिटाहरू गन्दा सत्ताईस लाख रुपैयाँ भयो । प्रहरीले चालकलाई सोधपछि उनले जवाफ दिए, ‘यो रुपैयाँ भक्तपुर बालकोट बस्ने सुमन घिमिरेको बालकोटस्थित घरमा पुर्याउन लगाए हुँ ।’

चालक तामाङले दिएको सूचनाको आधारमा पैसा धनी घिमिरेको खोजतलास गर्दा काठमाडौ महानगरपालिका पेप्सीकोलाबाट उनी पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

घिमिरेको बालकोटस्थित डेरा कोठामा समेत तलासी गर्दा नेपाल रुपैयाँ पन्ध्र लाख तीस हजार र गाडीमा भेटिएको २७ लाख सहित ४२ लाख तीस हजारको श्रोत नखुलेको रकम प्रहरीले फेला पारेको छ ।

उनको साथबाट दुई लाख पचास हजार रुपैयाँको राष्ट्रिय बाणिज्य बैंकको चेक थान –१, नौ लाख पचास हजार रुपैयाँको प्राइम बैंकको बाउन्स चेक थान– १ फेला पारेको छ ।

एक लाख पच्चीस हजार रुपैयाँको स्ट्याण्डर चार्टर बैंकको चेक थान – १, नौ लाख उनान्सय हजार रुपैयाँको नेपाल बैंक लि. को चेक थान – १ समेत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

‘पन्ध्र लाख रुपैयाँको महालक्ष्मी बिकास बैंकको चेक थान– १, मनास्लु डिस्ट्रिलरीको नाममा रु बहत्तर हजार रुपैया नगद जम्मा गरेको भौचर थान –१ भेटिएको छ,’ डीएसपी गिरीले भने ।

प्रहरीले घिमिरे र चालक तामाङलाई थप अनुसन्धान तथा कारवाहीका लागि सम्पती सुद्धिकरण विभाग पुल्चोक पठाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology