गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधवार सम्पन्न नवौं गाउँसभाले बहुमतको आधारमा वडा नम्बर १ बेगको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर १० शय्या क्षमताको अस्पताल बनाउने निर्णय गरेको हो ।
मौवाफाँट, पिप्ले र बेग मध्ये कहाँ अस्पताल बनाउने भन्ने विषयमा जनप्रतिधिबीच सहमति जुट्न नसकेपछि निर्णयका लागि गाउँसभामा मतदान गराइएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले गाउँसभा सदस्यको बहुमतबाट बेगमा अस्पताल निर्माण गर्ने निर्णय भएको जानकारी दिए । ‘४२ जना गाउँसभा सदस्यमध्ये सभामा ३५ जनाको उपस्थिति थियो,’ उनले भने, ‘मतदानमा सहभागी ३० मध्ये २६ जनाले बेग र ४ जनाले मौवाफाँटको पक्षमा मत हाल्नुभएको थियो ।’
बहुमतबाट स्थान छनोट गर्ने निर्णयमा वडा नम्बर ३ पिप्लेका वडाध्यक्ष जीवनकुमार मल्ल र ३ जना जनप्रतिनिधिले फरक मत राखेका थिए । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र उपाध्यक्ष कमला तिलिजाले मत जाहेर गर्न नपरेको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेढ वर्षअघि १ स्थानीय तह १ अस्पताल कार्यक्रमअन्तर्गत रघुगंगा–१ बेगलाई छनोट गरेको थियो ।
विक्रम संवत् २०७७ कात्तिक २० गतेको कार्यपालिका बैठकले सबै पालिकावासीलाई सेवा लिन पायक पर्ने र सहज हुने भएकाले पिप्ले स्वास्थ्यचौकीलाई स्तरोन्नति गर्दै गाउँपालिकाको केन्द्रमा व्यवस्थापन गरेको जग्गामा १० शय्या क्षमताको अस्पताल बनाउने निर्णय गरेको थियो ।
मौवाफाँटमा अस्पताल बनाउने आशयले निर्णय गरिए पनि स्वास्थ्य मन्त्रालयले पछिल्लोपटक अस्पतालमा स्तरोन्नति हुने स्वास्थ्य चौकीको सूचीमा पिप्ले स्वास्थ्य चौकीलाई राखेको थियो । ठाउँको विवादका कारण मंसिर १५ गते तय गरिएको अस्पताल शिलान्यास कार्यक्रम हुन सकेको थिएन । बेगको देउरालीमा अस्पताल भवन निर्माणका लागि स्थानीयवासीले नौ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको वडाध्यक्ष बिलप्रसाद फगामीले बताए ।
लोकबहादुर, हिमबहादुर र मेजन फगामीले ५ रोपनी तथा देउबहादुर, टुकबहादुर, दानबहादुर पुर्जा र जीतबहादुर गर्बुजाले ४ रोपनी जग्गा उपलब्ध गराएका छन् ।
गाउँसभाले वडा नम्बर ३ लाई विभाजन गरेर २ वटा वडामा कायम गर्न सिफारिस गर्ने निर्णय गरेको छ । मालिका, अक्षता, कलेजाबाङ, फूलबारी, मौवाफाँट र कुदबाङ क्षेत्रलाई समेटेर नयाँ वडा कायम गर्न प्रदेश सरकारमार्फत संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।
Facebook Comment