निकुञ्जबाट दिनहुँजसो निस्किने वन्यजन्तुबाट स्थानीय मर्कामा

NAWALPUR TIMES

निकुञ्जबाट दिनहुँजसो निस्किने वन्यजन्तुबाट स्थानीय मर्कामा
Chitwan National Park 340929 1920px 16x7 1024x448 1

कावासोती(रासस।  चितवन राष्ट्रिय निकुञ्जबाट दिनहुँजसो निस्किने वन्यजन्तुका कारण पूर्वी नवलपरासीमा निकुञ्ज आसपासको बस्तीका स्थानीयले निकै सास्ती व्यहोर्नुपरेको छ।

विशेष गरेर जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको दक्षिण क्षेत्रमा निकुञ्जबाट निस्किने वन्यजन्तुले मानवीय क्षति सँगसँगै किसानले लगाएको बालीनालीमा क्षती पु¥याउने गरेका छन्। आइतबार मात्रै निकुञ्जबाट निस्किएको गैँडाको आक्रमणबाट कावासोती नगरपालिका वडा नं ११ मा आफ्नै आँगनमा आगो ताप्दै गरेकी ३७ वर्षीया अनिता बोटे र घाँस काट्दै गरेका कावासोती–१२ का टीकाराम अधिकारीलाई आक्रमण गरेर घाइते बनाएको छ। गैँडाको आक्रमणबाट गम्भीर घाइते भएकी बोटेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने अधिकारी सामान्य उपचारपछि घर फर्किएका छ।

उनीहरूजस्तै आफ्नै घरमा बसेको या आफ्नै बारीमा काम गरिरहेको अवस्थामा गैँडाले आक्रमण गरेको घटना पटकपटक दोहोरिने गरे पनि वन्यजन्तु नियन्त्रणमा निकुञ्ज तथा स्थानीय प्रशासन गम्भीर नबनेको स्थानीयले बताउने गरेका छन्। उपभोक्ता समिति, निकुञ्ज प्रशासन, स्थानीय तह सबैसँग वन्यजन्तु नियन्त्रणको लागि पटकपटक आग्रह गरे पनि सुनुवाइ नभएको कावासोती–१२ का डुनराज सिग्देलले बताए।

वन्यजन्तुले मान्छेलाई गर्ने भौतिक आक्रमण मात्रै होइन किसानले लगाएको बालीनालीसमेत नष्ट गरिदिँदा स्थानीय थप मारमा परेका छ्न। जिल्लाको दक्षिण क्षेत्रका खेतमा एक वर्षमा तीन खेती हुने गरेको भए पनि बालीनालीमा वन्यजन्तुले क्षति पु¥याउँदा कृषकनै चिन्तित भएका हुन्। कावासोती नगरपालिकाको करिब चार किलोमिटर क्षेत्रमा गैँडालगायतका वन्यजन्तु रोक्न भनेर पर्खाल निर्माण गरिएको भए पनि गैँडालगायतका वन्यजन्तु आउने गरेको शान्तिकुञ्ज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष कमलबहादुर परियार बताए। विभिन्न ठाउँमा निकुञ्ज क्षेत्रमा प्रवेश गर्न बनाइएका अव्यवस्थित गेटबाट गैँडालगायतका वन्यजन्तु आउने गरेका अध्यक्ष परियारले जानकारी दिए। गैँडाले दिनहुँजसो बस्तीमा पसेर आतङ्क मच्चाएपछि स्थानीयवासी रातभर गैँडा कुरेर गैँडा लखेट्ने गरिरहेको उनको भनाइ थियो। “निकुञ्जबाट निस्किएका गैँडालाई उतै लखेटेर घर फर्किन्छौँ, हामी घरमा आइनपुग्दै गैँडा बस्तीमा आइपुग्छ”, उनले भने।

गैँडालगायतका वन्यजन्तुका कारणले खेतीबाली नष्ट भए पनि समयमै क्षतिपूर्ति नपाउने र पाइहाले पनि उचित क्षतिपूर्ति नपाउने गरेको कावासोती–१३ कृषक चेतनारायण चौधरीले बताए। स्थानीय मध्यवर्ती उपभोक्ता समितिको सिफारिसमा निकुञ्जले क्षतिपूर्ति उपलब्ध गराउने भए पनि झन्झटिलो प्रक्रिया र उचित क्षतिपूर्ति नपाउने कारणले किसान समस्यामा पर्ने गरेका कावासोती–१३ का पूर्ववडाध्यक्ष विनोद रानामगर बताए।

वन्यजन्तुले बालीनाली नष्ट गरिदिने, मान्छेलाई भौतिक आक्रमण गर्ने घटना दिनहुँजसो बढे पनि जनप्रतिनिधिको चासो यसमा नपरेको स्थानीयको गुनासो छ। निर्वाचनका बेला वन्यजन्तु नियन्त्रण गर्ने जिम्मा लिन्छौँ भनेर मत मागे पनि वन्यजन्तु नियन्त्रणको खासै काम जनप्रतिनिधिले नगरेको स्थानीय राजेश लम्सालले बताए। “नगरपालिकाको पहलमा मेस जाली लगाउने कामबाहेक वन्यजन्तु नियन्त्रण गर्ने अन्य कुनै प्रयास नहुँदा स्थानीयवासीको निकुञ्जप्रति हेर्ने दृष्टिकोण फेरिने हो कि भन्ने डर छ”, उनले भने।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology