नवलपुरबाट लगिएका ४ वटा गैँडा प्राकृतिक वातावरणमा घुलमिल हुँदै

सन्जय भट्टराई
प्रकाशित : २०८१ फागुन २० गते ८:००
नवलपुरबाट लगिएका ४ वटा गैँडा प्राकृतिक वातावरणमा घुलमिल हुँदै

कावासोती । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम सेक्टर नवलपुरबाट पुर्वी सेक्टरमा स्थानान्तरण गरेका ४ वटा गैँडाको पुर्वी सेक्टरको वन क्षेत्रमा घुलमिल हुँदै गएका छ्न ।

गत माघ १९ गते देखि माघ २२ गते सम्म चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम सेक्टरको गुन्द्रही ढकाहा वनबाट १५ र १६ वर्षको पोथी, नमूना मध्यवर्ती सामुदायिक वनबाट १८ वर्षको भाले र १४ वर्षको पोथीलाई स्थानान्तरण गरेर निकुञ्जको पुर्वी सेक्टरमा खगेन्द्रमल्ली र प्यारी ढाप क्षेत्रमा लगेको थियो ।

आनुवाशिंक विविधता मिलाउन र जलवायु परिवर्तनको जोखिमबाट बचाउन गैँडा स्थानान्तरण गरिएको दाबी गरेको निकुञ्जले २०८० को चैतमा ६ वटा र २०८१ को माघमा ४ वटा गैँडा पुर्वी सेक्टरमा आन्तरिक स्थानान्तरण गरेको थियो ।

दोस्रो चरणमा स्थानान्तरण गरिएका ४ वटा गैँडाको अहिले निकुञ्जको खगेन्द्रमल्ली र प्यारी ढाप क्षेत्रमा रहेका र उनिहरु त्यो क्षेत्रमा सहजै घुलमिल हुँदै आएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्तले बताए । यस पटक स्थानान्तरण गरिएका गैंडामा  रेडियो कलर राखिएको र उक्त रेडियो कलरको माध्यमबाट निकुञ्ज कार्यालय उनिहरुको निरन्तर अनुगमन गरिरहेको डा.पन्तले बताए । यस पटक स्थानान्तरण गरिएका गैँडाको घाँटीमा रेडियो कलर जडान गरिएको छ । उक्त रेडियो कलरले स्याटेलाईटको सहयोगमा ती गैँडाहरुको अवस्था निरन्तर मनिटरिङ गरिने गरेको उनले बताए ।

गत वर्षको चैतमा लगिएको ६ वटा गैँडामा रेडियो कलर थिएन उनिहरु स्थानान्तरण पछि कहाँ के गर्दै छ्न त्यसको एकिन तथ्यांक नभएको बताएका वरिष्ठ संरक्षण अधिकृत डा.पन्तले यस पटक स्थानान्तरण गरिएका गैँडालाई नजिकबाट अनुगमन गरिएको र बासस्थान व्यवस्थापन, आनुवाशिंक विविधता, जलवायु परिवर्तनका कारण गैँडामा परेको असर लगाएतका विषयमा निकुञ्जले नजिकबाट अध्ययन गरिरहेको बताए ।

 

प्रकाशित : २०८१ फागुन २० गते ८:००
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI