कावासोती । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ।
जनमोर्चा नवलपुरले कावासोतीमा आयोजित पत्रकार सम्मेलनमार्फत आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो। पार्टीका केन्द्रीय सदस्य दीपक पाण्डेले संघीयता लागू भएपछि देश आर्थिक संकटमा फसेको, प्रशासनिक ढाँचामा अराजकता बढेको र जनताले सोचेअनुसारको लाभ नपाएको भन्दै संघीयता खारेज गर्नुपर्ने बताए।
उनका अनुसार, आन्दोलन चैत २४ देखि ३० गतेसम्म काठमाडौंमा विभिन्न चरणमा हुनेछ। सो अवधिभर जनप्रदर्शन, विरोधसभा, ज्ञापनपत्र बुझाउनेलगायतका कार्यक्रम गरिने जनाइएको छ। पार्टीले संघीयता खारेजीको विकल्पमा सुदृढ स्थानीय शासन प्रणालीलाई अघि बढाउनु पर्ने प्रस्ताव अघि सारेको छ।
जनमोर्चाले मुलुकको राष्ट्रिय एकता, सार्वभौमिकता र आर्थिक स्थायित्व जोगाउनका लागि यो आन्दोलन आवश्यक रहेको स्पष्ट पारेको छ। यसअघि पनि जनमोर्चाले विभिन्न चरणमा संघीयताविरोधी अभियानहरू सञ्चालन गरेको थियो। अबको आन्दोलन निर्णायक हुने बताउँदै नेताहरूले संघीयता खारेजीको पक्षमा जनमत सिर्जना गर्न सबैलाई आह्वान गरेका छन्।
प्रकाशित : २०८१ माघ २८ गते १५:५७
Facebook Comment