कावासोती । देवचुली नगरपालिका–१७, बरटाँडीको एउटा सामान्य घर। घरभित्रको सानो कोठामा पस्नेबित्तिकै नजर भित्तातर्फ पुग्छ। त्यहाँ सजिएका छन् मेडल, प्रमाणपत्र र फुटबल जर्सीहरू। ती केवल पुरस्कार होइनन्, एउटा सानी खेलाडीले देखेको ठूलो सपनाका प्रतीक हुन्। ती सपनाकी मालिक हुन् ११ वर्षीया सजनी तामाङ, जसको अन्तिम लक्ष्य एक दिन नेपालको राष्ट्रिय फुटबल टोलीको जर्सी लगाएर देशका लागि खेल्नु हो।

उनी अझै विद्यालयमा पढ्दै छिन्। साथीहरु अरुनै कुरामा रमाइरहेका बेला सजनीको अधिकांश समय भने फुटबलसँग बित्छ। बिहानको सुरुवात प्रशिक्षणबाट हुन्छ, साँझ फेरि मैदानमै सकिन्छ। यही निरन्तरताले उनलाई अहिले नवलपुर मात्र होइन, देशभरका फुटबलप्रेमीमाझ चिनाएको छ।
विश्वकप फुटबलको माहोल चलिरहेका बेला नवलपुरमा सम्पन्न जिल्ला स्तरीय अन्डर–१६ फुटबल प्रतियोगिताको फाइनलमा सजनीले गरेको एउटा गोलले धेरैको ध्यान खिच्यो। आफूभन्दा उमेर, अनुभव र शारीरिक रूपमा बलिया खेलाडीहरूलाई छक्याउँदै गरेको त्यो गोल सामाजिक सञ्जालमा तीव्र रूपमा फैलियो। फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्राममा उनको भिडियो हजारौँले हेरे। धेरैले उनलाई नेपाली महिला फुटबलको उदाउँदो प्रतिभाका रूपमा चर्चा गर्न थाले। एउटै खेलले उनको चर्चा यति चुलियो कि उनको अन्तर्वाता लिन देशका विभिन्न कुनाबाट युट्युबर र कन्टेन्ट क्रियटर नआएको दिन हुँदैन ।

हामी सजनीको घर पुग्दा उनी साउदी अरबमा रहेका बुवासँग भिडियो कलमा कुरा गर्दै थिइन् । हामी पुग्ने बित्तिकै उनले घरमा पत्रकार आएको जानकारी गराइन् । भाइरल हुनु खहरेको भेल जस्तै ठानेर होला कतारमा रहेका सजनीका बुवा र कुवेतमा रहेकी उनीकी आमाले अव युट्युबरलाई अन्तरर्वाता नदिन घरमा रहेकी सजनीकी हजुरआमा सीता र अन्य शुभचिन्तकलाई भनिरहेका छन् ।
त्यसैले हामी पुगेको केही बेरमै उनका बुवाले आफ्नो नाता पर्ने फिफा रेफ्रि जितबहादुर तामाङलाई फोन गरेर आफ्नो घरमा जान भने । केही बेरमै जितबहादुर घर आएर हाम्रो बारेमा सोधखोज गरेपछि बल्ल सजनीसँग हामीले कुरा गर्ने अनुमति पायौं । तर, यो चर्चा एक दिनको उपलब्धि थिएन। त्यसका पछाडि सात वर्षको उमेरदेखि सुरु भएको निरन्तर अभ्यास, पसिना र संघर्ष लुकेको छ।

सजनीले फुटबल समातेको चार वर्षभन्दा बढी भइसकेको छ। अहिले उनी देवचुली नगरपालिकाले सञ्चालन गरेको नियमित फुटबल प्रशिक्षणमा दैनिक सहभागी हुन्छिन्। उमेर सानी भएपनि खेलस्तरका कारण नगरको अन्डर–१६ टोलीबाट खेल्दै आएकी छन्। मैदानमा उनी कहिल्यै उमेरले सानी देखिन्नन्। बल नियन्त्रण, गति, आत्मविश्वास र विपक्षी खेलाडीलाई छल्ने शैलीले उनी फरक देखिन्छिन्।
देवचुली नगर खेलकुद विकास समितिका फुटबल प्रशिक्षक विमल क्षेत्री सजनीलाई भविष्यकी राष्ट्रिय टोलीकी खेलाडीका रूपमा हेर्छन्। “उनीसँग सिक्ने भोक छ, आफूभन्दा ठूला खेलाडीसँग अभ्यास गर्छिन्, प्रतियोगितामा दबाब झेल्छिन्, गोल पनि गर्छिन् र पूरा खेलभर ऊर्जा कायम राख्छिन्। कम उमेरमै देखिएको यो प्रतिभा परिपक्वता दुर्लभ हुने” प्रशिक्षक क्षेत्रीले बताए । उनको उचाईका बारेमा अलि चिन्ता भए पनि किशोरीको उमेर १६, १७ वर्षसम्म बढ्ने भएकाले उचाई बढ्नेमा प्रशिक्षक क्षेत्री ढुक्क छन् । ‘‘उनको फुटवर्क, स्किल र स्टामिना सबैभन्दा राम्रो पक्ष हो, प्राक्टिसमा थाकेको महसुस कहिल्यै हुँदैन, ९० मिनेको खेलमा उनी पुरै समय मैदानमा बिताउँछिन्,’’ प्रशिक्षक क्षेत्रीले भने, ‘‘यति सानो उमेरको मान्छेमा यो क्षमता ! यो त गड गिफ्ट नै हो जस्तो लाग्छ, कसैलाई धेरै सिकाउँदा पनि केही हुन्न, उनलाई थोरै सिकाउँदा पनि धेरै सिक्छिन् ।’’

फाइनलमा गरेको उत्कृष्ट प्रदर्शनपछि सजनीको चर्चा झन् चुलियो। सामाजिक सञ्जालमा उनको भिडियो हेरेपछि नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान गणेश थापा उनी अध्ययनरत विद्यालयमै पुगेर भेट्न पुगे। उनले सजनीलाई हौसला दिँदै निरन्तर मेहनत गर्न सुझाव दिए। त्यो भेटको भिडियो सार्वजनिक भएपछि सजनीको परिचय झन् धेरैमाझ पुग्यो।
फुटबलमा मात्र होइन, पढाइमा पनि सजनी अब्बल छिन्। विद्यालय र प्रशिक्षणबीचको समय व्यवस्थापन सजिलो छैन। तर उनी दुवैलाई सँगसँगै अघि बढाइरहेकी छन्। उनको अर्को संघर्ष पनि छ। बुबाआमा वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन्। उनी अहिले हजुरआमासँग बस्दै पढाइ र फुटबललाई निरन्तरता दिइरहेकी छन्। परिवार टाढा भए पनि सपना भने कहिल्यै टाढा भएको छैन।
सजनीको कोठामा मेडलसँगै लियोनेल मेसीको जर्सी पनि छ। उनी आफूलाई मेसीको कट्टर समर्थक बताउँछिन्। नेपाली फुटबलमा भने राष्ट्रिय टोलीकी मिडफिल्डर प्रिती राई उनको आदर्श हुन्। प्रिती राई जस्तै नेपालको राष्ट्रिय टोलीबाट खेल्ने सपना रहेको सजनीले बताउने गरेकी छिन ।

प्रशिक्षकका अनुसार अहिले नै विभिन्न क्लब र संस्थाबाट सजनीलाई प्रशिक्षण र अवसरका प्रस्ताव आउन थालेका छन्। सही प्रशिक्षण, पर्याप्त अवसर र निरन्तर मेहनत कायम रह्यो भने उनी नेपाली महिला फुटबलको भविष्य बन्न सक्ने विश्वास धेरैको छ। जिल्ला खेलकुद विकास समितिले पनि सजनीको खेलको स्तर बृद्धि गर्नका लागि आवश्यक समन्वय गर्ने प्रतिवद्धता जनाएको छ । समितिका कोषाध्यक्ष राजु चापागाईले राज्यका विभिन्न निकाय र नीजि क्षेत्रसँग समन्वय गर्दै स्तरबृद्धिका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।

सानो कोठाको भित्तामा झुन्डिएका ती मेडलहरू आजसम्मको यात्राका सम्झना मात्र हुन्। सजनीका लागि ती अन्तिम गन्तव्य होइनन्, अझ ठूला उपलब्धितर्फ अघि बढ्ने प्रेरणा हुन्। उनी अहिले एउटा गोलका कारण चर्चामा छिन्। तर, यदि यही मेहनत र समर्पण कायम रह्यो भने भोलि उनी नेपाली राष्ट्रिय टोलीको जर्सीमा देशको प्रतिनिधित्व गर्ने खेलाडीका रूपमा चिनिन सक्छिन्। सायद केही वर्षपछि यही सानो कोठाको भित्तामा थपिने अर्को जर्सी नेपालको राष्ट्रिय टोलीको हुनेछ।
Facebook Comment