कावासोती । स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्त्यतिर गरेको सनसनीपूर्ण गोलको मद्दतले आइभोरी कोस्टलाई २-१ ले पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को प्रिक्वाटरफाईनलमा प्रवेश गरेको छ। यो रोमाञ्चक जितसँगै नर्वेले अब प्रिक्वाटरफाईनलको भिडन्तमा पाँच पटकको विश्व विजेता ब्राजिलको सामना गर्ने पक्का भएको छ। ब्राजिल जापानलाई हराउँदै यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । अब नर्वेले आगामी सोमबार न्युयोर्कमा ब्राजिलको सामना गर्नेछ।
यसअघि डालस स्टेडियममा करिब ७० हजार दर्शकमाझ भएको प्रतिस्पर्धात्मक खेलमा नर्वेले पहिलो हाफमा अग्रता लिएको थियो। खेलको ३९ औं मिनेटमा कप्तान मार्टिन ओडेगार्डको पासलाई सदुपयोग गर्दै एन्टोनियो नुसाले डिबक्स बाहिरबाट उत्कृष्ट कर्लिङ सटमार्फत गोल गरेर टोलीलाई १-० को अग्रता दिलाएका थिए।
दोस्रो हाफमा खेल निकै आक्रामक बन्यो। आइभोरी कोस्टका आमाद डियालोले ७४ औं मिनेटमा एक दर्शनीय गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। म्यानचेस्टर युनाइटेडका यी खेलाडीले निकोलस पेपेसँग उत्कृष्ट तालमेल मिलाउँदै नर्वेको रक्षापंक्तिलाई बिट गरेर गरेको सोलो गोललाई यस प्रतियोगिताकै उत्कृष्ट गोलमध्ये एक मानिएको छ।
तर, खेल सकिन चार मिनेट बाँकी छँदा हालान्डले आफ्नो जादु देखाए। ८६ औं मिनेटमा प्याट्रिक बर्गको क्रसमा हालान्डले बललाई जाली चुमाउँदै नर्वेको जित निश्चित गरे। यो हालान्डको यस विश्वकपमा पाँचौं गोल हो भने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उनको लगातार १३ औं गोलको कीर्तिमान समेत हो।
Facebook Comment