सीमामा कडाइले नवलपुरका माछा व्यवशायी उत्साहित

सीमामा कडाइले नवलपुरका माछा व्यवशायी उत्साहित

कावासोती । सरकारले भारतसँगको सीमानाकामा गरेको कडाइले नवलपुरका माछा व्यवशायी उत्साहित भएका छन् । भारतबाट सस्तो मूल्यमा आउने माछाले नेपाली बजार प्रभावित हुने गरेकोमा वर्तमान सरकारले भारतबाट आयात हुने माछा तथा अन्य कृषिजन्य सामग्रीमा कडाई गरेपछि नेपाली व्यवशायीलाई राहात मिलेको हो ।

भारतबाट माछा आउन कडाई गरेपछि नेपाली माछाले मूल्य राम्रो पाएको र उपभोक्ताले स्वस्थकर माछा खान पनि पाएको कावासोती–१५ गुडारका माछा पालक किसान निरञ्जन पाण्डेले बताए । उनले कावासोतीमा ४ विगाहा र देवचुलीमा सामुहिक रुपमा १२ विगाहा क्षेत्रफलमा माछा पालन गरिरहेका छन् ।

‘‘गतवर्ष यही समयमा होलसेलमा प्रतिकिलो २८० रुपैयाँ मूल्य थियो, यो वर्ष सरकारले सीमानाकामा कडाई गरेकाले भारतीय माछा आउन पाएको छैन, जसले गर्दा नेपाली किसानले उत्पादन गरेको माछाले राम्रो भाउ पाएको छ,’’ पाण्डेले भने, ‘‘अहिले हामी होलसेल प्रतिकिलो ३३० रुपैयाँमा बेचिरहेका छौं ।’’

देवचुलीमा माछा पालन समेत गरिरहेका नवलपुर मत्स्य व्यवशायी संघका अध्यक्ष इन्द्रमणि भुसालले पनि सरकारले भारतीय सीमा नाकामा गरेको कडाईले जिल्ला भरिका किसानलाई राहात मिलेको बताए । ‘‘आयातित माछामा गरिएको कडाईले व्यवशायीलाई सफलता मिलेको छ, जसले गर्दा जिल्लाभरिका माछा व्यवशायी किसान उत्साहित भएका छन्,’’ भुसालले भने ।

नयाँ सरकारले हरेक कृषि बस्तु आयातमा कडाई गर्दै स्वदेशी उत्पादनलाई बढावा तथा क्सारेटिनलाई प्रभावकारी बनाएका कारण माछाको नेपाली बजार राम्रो भएको भुसालको भनाइ छ ।

केही व्यापारीहरुले भारतबाट मरेको माछालाई प्याक गरेर ल्याउने र फर्मालिन केमिकल हालिएको हुनाले स्वास्थ्यका लागि असर गर्ने भएकाले भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द, नवलपुरले नेपाली माछा मात्र उपभोग गर्न आग्रह गरेको छ ।

माछा पालनका लागि नवलपर गण्डकीकै उत्कृष्ण जिल्ला पर्छ । मत्स्य पालन र पोखरी सबैभन्दा बढी भएको जिल्ला पनि नवलपुर नै हो । यहाँ १८ सय ४ रोपनी जलासय क्षेत्रमा १५ सय ७४ वटा माछा पोखरी रहेको केन्दले जनाएको छ । केन्द्रका अनुसार नवलपुर माछामा आत्मनिर्भर उन्मुख देखिएको छ ।

केन्द्रका कार्यालयका प्रमुख डा शर्मिला कुमालका अनुसार प्रतिव्यक्ति वार्षिक १४ किलो माछा आवश्यक पर्नेमा हाल झण्डै १३ किलो उत्पादन हुने गरेको छ । उपलब्धता र आवश्यकताका हिसावले माछामा झण्डै एक किलो अपुग रहेको डा कुमालले बताइन् । तर हरेक वर्ष माछाको उत्पादन बढिरहेकाले आत्मनिर्भर हुन धेरै समय नलाग्ने उनको भनाइ छ ।

माछा पालक किसानहरुले बजार व्यवस्थापन, जीवित माछा ढुवानी, सहुलियतपूर्ण ऋण र व्यवसायिक सीप विकासमा जोड दिन सरकारसँग आग्रह गरेका छन् । कावासोती–१३ का माछा पालक किसान भुपराज श्रेष्ठले राज्यले यी समस्या समधान गर्ने हो भने नेपाल माछामा आत्मनिर्भर हुन र कृषकलाई कमाई गर्न समस्या नहुने बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology