कावासोती । नवलपुर उद्योग वाणिज्य संघले भित्री साना तथा व्यस्त सडकहरूमा पार्किङ व्यवस्थापन गर्दै दुर्घटना न्यूनीकरण र व्यावसायिक प्रवद्र्धन गर्ने उद्देश्यले सडक मार्किङ एवम् एकतर्फी पार्किङ अभियान सुरु गरेको छ ।
अभियानअन्तर्गत संघले सडक मार्किङ कार्यलाई पहिलो चरणमै अगाडि बढाएको जनाएको छ । पहिलो चरणमा सदरमुकाममा रहेको प्यस्त सडक तथा मुख्य सडक अन्र्तगत इन्द्रचोक–कुमारवर्ती कलेज रोड, थानाचोक–बी.पी. चोक, सभापति चोक–कलेज चोक तथा डण्डा गैडाचोकबाट करिब २०० मिटर क्षेत्रभित्र मार्किङ गरिएको छ ।
संघका नवनिर्वाचित अध्यक्ष सागर पोख्रेलका अनुसार कावासोतीका सभापति चोक, बी.पी. चोक, इन्द्र चोक र डण्डा बजारका भित्री सडकहरूमा वन–वे पार्किङका लागि आवश्यक संकेतहरू राखिएका छन् ।
अभियानअनुसार अब मोटरसाइकल पार्किङ ‘एक दिन एक साइड र अर्को दिन अर्को साइड’ प्रणालीअनुसार गर्नुपर्नेछ । यसले सवारी व्यवस्थापनमा सहजता ल्याउने र बजार क्षेत्रको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको संघले जनाएको छ ।
नवलपुर उद्योग वाणिज्य संघको पहिलो बैठकले संघमा आवद्ध सदस्यहरुको दुर्घटना विमा र भित्री मुख्य बजार क्षेत्र र साना सडकहरुमा एकतर्फि पाकिङ्ग व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।
Facebook Comment