रजहरमा भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक गम्भीर घाइते

रजहरमा भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक गम्भीर घाइते

नवलपुर, पौष ९ —
नवलपुरको देवचुली नगरपालिका–१६ रजहरस्थित पूर्व–पश्चिम राजमार्गमा आज साँझ भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुर (पूर्व) का अनुसार आज चितवनबाट कावासोतीतर्फ आउँदै गरेको UP80FT3525 नम्बरको भारतीय ट्रक ले सोही दिशाबाट आउँदै गरेको ना २१ प ४०९ नम्बरको मोटरसाइकल लाई ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकल चालक लमजुङको क्व्होलासोथर गाउँपालिका–३ निवासी ५७ वर्षीय रश बहादुर गुरुङ गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि देवचुली नगर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, मोटरसाइकलको पछाडि सवार कावासोती नगरपालिका–५ निवासी २२ वर्षीया हेमा गुरुङ को दुवै खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ। उनको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रक चालक भारत उत्तर प्रदेशको इस्लामपुर, इस्लामनगर निवासी ३५ वर्षीय हसरुद्दिन खान रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology