राष्ट्रिय परिचयपत्र नम्बरको भरमा अनलाइनबाट मतदाता नामावली यसरी दर्ता गर्नुहोस् आफ्नो नाम

NAWALPUR TIMES
प्रकाशित : २०८२ कार्तिक २८ गते १२:१२
राष्ट्रिय परिचयपत्र नम्बरको भरमा अनलाइनबाट मतदाता नामावली यसरी दर्ता गर्नुहोस् आफ्नो नाम

कावासोती । निर्वाचन आयोगले अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ । आयोगको प्रणाली र राष्ट्रिय परिचयपत्र प्रणालीलाई आपसमा जोडेर अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने सेवा सञ्चालनमा ल्याइएको हो ।

यसअघि आयोगको वेबसाइटबाट आफ्नो व्यक्तिगत विवरणसहित प्रि-इनरोलमेन्ट गर्ने व्यवस्था मिलाइएको भए पनि बायोमेट्रिक र फोटो खिचाउन निर्वाचन कार्यालयसम्म जानुपर्ने बाध्यता रहेको थियो । अब भने प्रि-इनरोलमेन्टको साटो आफैँले मतदाता नामावली दर्ता प्रक्रिया सम्पन्न गर्न सकिने भएको हो ।

प्रधानमन्त्री सुशीला कार्कीको सहजीकरणमा आयोग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले छोटो समयमै यो प्रणाली तयार पारेका हुन् । बिहीबार मात्रै यसको परीक्षण सम्पन्न भएको थियो ।

कसरी गर्ने दर्ता ?

यदि तपाईँसँग राष्ट्रिय परिचयपत्र नम्बर छ भने यो सुविधा प्रयोग गरेर तपाईँले आफैँले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न सक्नु हुन्छ । यसका लागि सबैभन्दा पहिला आयोगको वेबसाइट (election.gov.np) मा जानुहोस् अथवा यहाँ क्लिक गर्नुहोस् ।

आयोगको वेबसाइटमा गइसकेपछि मतदाता नामावली प्रि-रजिष्ट्रेशन र अद्यावधिक (Online Pre-Enrollment) मा क्लिक गर्नुहोस् अथवा सोझै त्यसमा जान यहाँ क्लिक गर्नुहोस् ।

अब त्यहाँ तपाईँले नयाँ मतदाता नामावली दर्ता र नामावली अद्यावधिक गरी दुई वटा विकल्प देख्नु हुनेछ ।  त्यसमध्ये नयाँ दर्तामा क्लिक गर्नुहोस् ।

त्यसभित्र गइसकेपछि तपाईँले पुनः दुई वटा विकल्प देख्नु हुनेछ । जस मध्ये पहिलो विकल्प ‘राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गरेको  व्यक्तिले मतदाता परिचय पत्रमा दर्ता गर्नको लागि’ भनेर लेखिएको भागमा राष्ट्रिय परिचयपत्रको विवरण (राष्ट्रिय परिचय पत्र नम्बर, अङ्ग्रेजी जन्म मिति र नाम) भर्नुहोस् । अन्त्यमा दिइएको हिसाब जोड्दा निस्किने अङ्क रातो घेरा नहटेसम्म राख्दै जानुहोस् र हरियो घेरा आएपछि ‘NIN बाट प्रमाणीकरण गर्नुहोस्’ लेखिएको निलो बटनमा क्लिक गर्नुहोस् ।

यति गरिसकेपछि आयोगको सिस्टमले राष्ट्रिय परिचयपत्रको सिस्टमलाई सोध्छ र सम्पूर्ण विवरण मेल खाएको खण्डमा मतदाता नामावली दर्ताको प्रक्रिया सुरु गर्न सकिन्छ । नयाँ पेज खुलेपछि सुरुमा तपाईँको नागरिकता अनुसारको स्थायी देखा पर्छ, नदेखिए ठेगाना भर्नुहोस् ।

-टेकपानाबाट

प्रकाशित : २०८२ कार्तिक २८ गते १२:१२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI