कावासोतीको हाटबजारमा राखिएको काउलीमा ९८.८५ प्रतिशत विषादी

NAWALPUR TIMES
प्रकाशित : २०८२ कार्तिक २४ गते १८:३८
कावासोतीको हाटबजारमा राखिएको काउलीमा ९८.८५ प्रतिशत विषादी

कावासोती । नवलपुरको कावासोतीस्थित हाट बजारमा बिक्रीका लागि राखिएको काउलीमा अत्यधिक विषादी भेटिएको छ ।

विषादी अन्वेषण द्रूत विश्लेषण प्रयोगशाला एकाइ कावासोतीले सोमबार हाट बजारमा नमुना सङ्कलन गरेर परीक्षण गर्दा मानव स्वास्थ्यलाई असर पार्ने विषादी भेटिएपछि काउली नष्ट गरिएको हो ।

रजहरका एक किसानले उत्पादन गरेको काउली हाट बजारमा व्यवसायीले बिक्रीका लागि राखेका थिए । समय-समयमा विषादी अन्वेषण द्रूत विश्लेषण प्रयोगशाला एकाइले तरकारीको नमुना परीक्षण गर्दै आएको छ । सोही क्रममा काउलीमा नोफस्फेट विषादी ९८ दशमलव ८५ प्रतिशत भेटिएको प्रयोगशाला एकाइ कावासोतीका नायब प्राविधिक सहायक वीरेन्द्र भण्डारीले बताए ।

विभिन्न स्थानबाट बिक्रीका लागि ल्याइएका काउली परीक्षणका क्रममा अत्यधिक विषादी भेटिएको करिब १ सय ५० किलो काउली नष्ट गरिएको छ ।

अर्गानोफस्फेट ३५ प्रतिशतभन्दा कम भएमा उपभोगका लागि योग्य मानिने भए पनि अत्यधिक विषादी भेटिएको हो । स्थानीय तह र प्रयोगशाला एकाइले तरकारी उत्पादन भएपछि नि:शुल्क रूपमा विषादी परीक्षण गरेर मात्र बजारमा पठाउन आग्रह गरे पनि किसानले यसलाई कार्यान्वयन गरेका छैनन् ।

यसअगाडि पनि कावासोतीस्थित हाट बजारमा चितवनबाट ल्याइएको सागमा ९९ प्रतिशत विषादी भेटिएपछि नष्ट गरिएको थियो ।

प्रकाशित : २०८२ कार्तिक २४ गते १८:३८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI