आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा पर्व मनाइँदै

NAWALPUR TIMES

आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा पर्व मनाइँदै

आज श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन हिन्दु धर्मावलम्बीहरूको पवित्र चाड मनाइने गरिन्छ । तिथिका आधारमा मनाइने यो चाड प्रत्येक वर्ष, महिना, बार र गते फरक हुने गर्दछ । अघिल्लो दिनबाटै चोखोनितो गरी एक छाक मात्र खाई आज बिहान दैनिक पूजनादी नित्य कर्महरू सम्पन्न गरी यस दिन नदी, तलाउ, पोखरी आदी जलाशयमा स्नान गरी जनै तथा रक्षाबन्धन राखेर तल दिएका मन्त्र उच्चारण गरी सप्तऋषिहरुको स्तुति गरिन्छ ।

वशिष्ठकाश्यपोऽत्रिर्जमदग्निस्सगौतमः।
विश्वामित्रभरद्वाजौ सप्त सप्तर्षयोभवन्।।
११ जना प्रजापति ऋषिहरूको स्तुतिः
भृगुर्वशिष्ठः क्रतुरङ्गिरश्च मनुः पुलस्त्यः पुलहश्च गौतमः ।
रैभ्यो मरिचिच्यवनश्च दक्षः, कुर्वन्तु सर्वे ममः सुप्रभात ।

त्यसैगरी अन्य १०८ ऋषिहरूलाई सम्झेर वैदिक मन्त्रोच्चारण गर्दै तर्पण दिँदै यज्ञोपवीत (जनै) र रक्षा सूत्रको पूजा गरिन्छ । पूजा गर्दा तपाईँ देवता तथा ऋषिहरू हामीले गरेको पूजा र तर्पणबाट सन्तुष्ट हुनुहोस् र हाम्रो रक्षा गर्नुहोस् भनिन्छ ।
भविष्यपुराणका अनुसार–रक्षाबन्धनमा घरको बीचमा लिपपोत गरेर बेदी तयार गरी ४ दिशामा ४ कलशको स्थापना गर्नुपर्दछ । शुभ मुहूर्तमा गुरु पुरोहितको हातबाट मन्त्रपूर्वक रक्षाबन्धन बाँध्नु पर्दछ ।

येन बद्धो वलीराजा दानवेन्द्रो महावलः ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।

यसको अर्थ
“जुन रक्षा (काँचो धागो)ले दानवहरूको महान् राजा बलिलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ” ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

 

सत्य युगमा कुनै पनि मानिस धर्म तथा कर्मबाट विचलित नभई निष्ठा पूर्वक आफ्नो काम गर्नको निम्ति देव गुरुबाट रक्षा बन्धन बाँधिएको थियो । आज पनि कानुनको अधीनमा रहेर हाम्रो दैनिक क्रियाकलाप सञ्चालित होस भन्ने कामनाका साथ आफ्नो गुरु तथा पुरोहितबाट आफ्नै घरमा वा मन्दिरमा गई रक्षा बन्धन बाँध्ने गर्दछौ । आज लगाइने रक्षा बन्धन तिहार वा दीपावलीमा गाई तिहारका दिन गाईका पुच्छरमा बाँधिइदिनाले मृत्यु पश्चात् वैतरणी नदी सजिलै पार गर्न सकिने धार्मिक विश्वास रहेको छ ।

जनै लगाउनुको शास्त्रीय महत्त्व
ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका मानिस (तागाधारी) ले प्रत्येक वर्ष आजकै दिन पुरानो लगाइरहेको जनै त्यागी नयाँ जनै लगाउनु पर्ने विधान शास्त्रमा उल्लेख गरिएका छ । आजको दिन पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै ९यज्ञोपवीत० फेर्ने गरिन्छ । जनै लगाइसकेपछि दैनिक गायत्री मन्त्र जप्ने, श्रावणी कर्म अर्थात उपकर्म गर्ने, देवता, पितृहरूलाई र ब्राह्मणहरूलाई जनै दान गर्नुपर्ने कुरा शास्त्रमा बताइएको छ ।

पुरानो जनै त्याग्ने निर्णय:

सूतके मृतके चैव गते मासचतुष्टये ।
नवयज्ञोपवीतानि धृत्वा जीर्णनि संत्यजेत् ।।

विभिन्न युगमा मर्यादा पुरुषोत्तम श्रीराम, योगिराज श्रीकृष्ण, कैलाशपति शिव, चतुर्मुख ब्रह्माजी, महाराजा जनक, माता पार्वती, सीता, माता दुर्गा, माता रुक्मिणी, माता सरस्वती, देवी कुन्ती सतिसाध्वी द्रौपदी त्यसैसरि लंकापति राक्षस रावण आदि सबै हामीले मान्ने भगवान् तथा नरनारीहरू जनै धारण गर्दथे । यद्यपि आजकाल नारिले जनै धारण गर्ने परम्परालाई हटाइएको छ ।

पुरानो जनै त्याग गर्ने मन्त्र:

एतावद्दिनपर्यन्तं ब्रह त्वं धारितं मया ।
जीर्णत्वात् त्वत् परित्यागो गच्छ सूत्र यथासुखम् ।।

नयाँ जनै लगाउने मन्त्र:

यज्ञोपवितं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात् ।
आयुष्यमग्य्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेज ।।

जनैमा प्रयुक्त हुने डोरा ग्रन्थ र शिखाले ज्ञान र जीवनबारे सही मार्गमा लैजान सहयोग गर्छन् । जनै अत्यन्त प्राकृत र पवित्र वस्तु हो, यो सृष्टिकर्तासँगै जन्मिएको हुँदा यसको धारण गर्नाले आयु, बुद्धि, तेज र बलको श्रीवृद्धि हुन्छ । विधिपूर्वक जनै लगाउनाले मानिसले आफ्नो जीवनलाई शुद्ध, संयमी र अनुशासित बनाउन सकिन्छ । व्यक्तिमा कुशाग्र बुद्धि, तीव्र स्मरण, शीघ्र स्फुरण, विवेकशीलता, निर्णायक सामर्थ्य जस्ता विशेष गुण ब्रह्मसूत्र धारण गर्दा प्राप्त हुन्छन् । अज्ञानवश वा भूलवश गरेका दोषयुक्त कृत्यहरूको प्रायश्चित्तका लागि र भविष्यमा त्यस्ता गल्तीहरू नदोहोराई सत्मार्गमा अभिप्रेरित हुन आज बिहान नदी वा तीर्थतटमा सम्मिलित भई वैदिक विधि अनुसार स्नान, सूर्य आराधना, प्राणायाम, अग्निहोत्र, ऋषिपूजन आदि कामद्वारा शारीरिक, मानसिक एवं आध्यात्मिक शुद्धिका कर्महरू गरिन्छ ।

क्वाँटीको परम्परा

जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवम् आयुर्वेद शास्त्रीय मान्यता छ ।

राखी बाँधेर रक्षाबन्धन मनाइँदै

भारत तथा नेपालको तराई मधेसमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धूमधामसाथ मनाइन्छ । आज दिदीबहिनीले आफ्ना दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु र प्रगतिको कामना गर्दछन् । दाजुभाइले दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिने प्रचलन रहेको छ ।

मधेसी समुदायमा राखी बाँध्ने प्रचलन भए पनि पछिल्लो समयमा हिमाल, पहाड तथा तराईका सबै समुदायका मानिसहरूले चाडबाडको रूपमा मनाउने गर्दछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology