कक्षा १२ मा ५ वर्षयताकै उत्कृष्ट नतिजा

NAWALPUR TIMES
प्रकाशित : २०८२ साउन २१ गते ९:३६
कक्षा १२ मा ५ वर्षयताकै उत्कृष्ट नतिजा

कावासोती । माध्यामिक शिक्षाको अन्तिम (कक्षा १२) को परीक्षामा ५ वर्षयताकै धेरै विद्यार्थी उत्तीर्ण भएका छन्। सोमबार सार्वजनिक भएको नतिजाअनुसार यस वर्ष गतवर्षको तुलनामा उत्तीर्ण विद्यार्थी प्रतिशतमा ९ अंकको सुधार आएको छ।

परीक्षामा नियमिततर्फ ३ लाख ९६ हजार ३४७ जना सहभागी भएकोमा ६१ दशमलव १९ प्रतिशत अर्थात् २ लाख ४२ हजार ४६५ विद्यार्थी उत्तीर्ण भएका छन्। आंशिकतर्फ १ लाख १४ हजार ६४० जना विद्यार्थी सहभागी भएकोमा ३६ दशमलव १४ प्रतिशत अर्थात् ४१ हजार ८४० जना विद्यार्थी उत्तीर्ण भएका छन्।

वैशाख २१ गते देखि जेठ २ गतेसम्म सञ्चालन भएको परीक्षामा ५ लाख १० हजार ९८७ विद्यार्थी सहभागी भएकामा २ लाख ८४ हजार ३०५ जना विद्यार्थी उत्तीर्ण भएका हुन्।

नियमिततर्फ १ लाख ५३ हजार ८८२ जना र आंशिकतर्फ ७२ हजार ८०० विद्यार्थीले ननग्रेड पाएका छन्।

प्रत्येक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थीको नतिजा प्रकाशनमा ननग्रेडिङ हुने लेटर ग्रेडिङ निर्देशिका २०७८ ले व्यवस्था गरेको छ।

परीक्षा दिएका मध्ये नियमिततर्फ ११ र आंशिकतर्फ ६ गरी १७ जना विद्यार्थीको परीक्षा रद्द भएको छ।

अंग्रेजी, लेखा, सामाजिक र नेपालीमा धेरै विद्यार्थीले ननग्रेड पाएका छन्।

१३ हजार ५०२ विद्यार्थीले ३.६ देखि ४ जीपीए ल्याएका छन्।

नतिजा अनुसार २ दशमलव ८ देखि ३ दशमलव २ ल्याउने सबैभन्दा बढी विद्यार्थी छन्। यस वर्ष ९४ हजार २६८ जना विद्यार्थीले २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याएका छन्। २.४ देखि २ दशमलव ८ प्रतिशत ल्याएर ६९ हजार ८ सय १२ जना उत्तीर्ण भएका छन्। ३.२ देखि ३.६ जीपीए ५५ हजार ८९६ जना विद्यार्थीले ल्याएका छन्। २.१ देखि २ .४ जीपीए ल्याउने विद्यार्थी संख्या ८ हजार ९६४ छन्। १.६ देखि २ जीपीए ल्याउने २३ जना विद्यार्थी छन्।

यो नतिजा पाँच वर्षयताकै उत्कृष्ट हो। २०७८ सालको परीक्षामा ४६ दशमलव ४ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए। २०७९ सालमा ५१ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। २०८० को परीक्षामा नतिजा केही घटेको थियो। सो वर्ष ५०.९१ प्रतिशत उत्तीर्ण भएका थिए।  गत वर्ष ५२ प्रतिशत विद्यार्थी कक्षा १२ मा ग्रेडिङ भएका थिए। गत वर्ष ५२.९१ प्रतिशत उत्तीर्ण भएका थिए। यस वर्ष ९ अंकको सुधार आएर ६१ दशमलव १७ प्रतिशत उत्तीर्ण भएका हुन्।

माध्यमिक शिक्षाका लागि २०७८ सालमा नै लेटर ग्रेडिङ निर्देशिका लागू भएको थियो।

प्रकाशित : २०८२ साउन २१ गते ९:३६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI