कावासोती । सन् २०२५ को जुलाई महिनामा ७० हजार १९३ पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार, यो संख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८.७ प्रतिशतले बढी हो ।
कोभिड १९ का कारण सुस्ताएको पर्यटन आवागमनमा ९९ प्रतिशतले सुधार भएको बोर्डले जनाएको छ । तथ्यांकले सुस्ताएको पर्यटन व्यवसाय पुनः लयमा फर्किएको देखाएको छ ।
सन् २०२५ को जनवरीदेखि जुलाईसम्मको पहिलो सात महिनामा नेपालमा कुल ६ लाख ४७ हजार ८८२ जना पर्यटक आइका छन् । जुन महामारीपछिको कुनै पनि वर्षको तुलनामा उच्चतम आगमन हो ।
यो संख्याले नेपालको पर्यटन पुनरुत्थान र विश्वभर फेरि एकपटक लोकप्रिय गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखाएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए ।
जुलाईमा कुल आगमनमध्ये सबैभन्दा बढी भारतबाट आएका छन् । भारतबाट २७ हजार १५२ जना अर्थात् ३८.७ प्रतिशत पर्यटक आएका छन् ।
दोस्रो स्थानमा चीनबाट ६ हजार ८९० जना (९.८ प्रतिशत), तेस्रोमा अमेरिकाबाट ६ हजार ६२६ जना (९.४ प्रतिशत), बंगलादेशबाट चार हजार ४१३ जना (६.३ प्रतिशत) र बेलायतबाट तीन हजार ५४७ जना (५.१ प्रतिशत) पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।
प्रकाशित : २०८२ साउन १७ गते २०:२१
Facebook Comment