गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

NAWALPUR TIMES
प्रकाशित : २०८२ साउन १३ गते १०:२१
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

कावासोती । भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेको रकममध्ये रु १० करोडभन्दा बढी फिर्ता भएको छ ।

भरतपुर महानगरपालिकाको समन्वयमा निकासा भएको उक्त रकम काम हुन नसकेपछि पुनः सङ्घ र प्रदेशमै फिर्ता गरिएको हो । निर्माण व्यवसायीले गत आर्थिक वर्षभित्रमा गर्नुपर्ने काम पूरा नगरेपछि रु १० करोड ५४ लाख ३० हजार १७० फिर्ता भएको हो । महानगरपालिकाका डिभिजनल इञ्जिनियर सन्तोष आचार्यका अनुसार सङ्घीय सरकारले रु २५ करोड निकासा गरेकामा रु १७ करोड ६५ लाख ६९ हजार आठ सय ३० मात्रै खर्च भएको छ । बाँकी रु सात करोड ३४ लाख ३० हजार एक सय ७० फिर्ता भएको हो ।

यस्तै, बागमती प्रदेश सरकारबाट निकासा भएको रु १० करोडमध्ये रु छ करोड ८० लाख मात्रै खर्च भएको छ । यसमा रु तीन करोड २० फिर्ता भएको हो । रङ्गशाला निर्माणका लागि बागमती प्रदेश सरकारको ७० प्रतिशत र ३० प्रतिशत भरतपुर महानगरपालिकाले बेहोर्ने सम्झौता छ । सङ्घीय सरकारले महानगरपालिकाको तर्फबाट गरिने खर्चमा रकम दिएको थियो ।

महानगरले रङ्गशालाका लागि रु पाँच करोड विनियोजन गरेको थियो । उक्त रकमसमेत फ्रिज भएको छ । निर्माण कम्पनीले असार मसान्तसम्म ४० प्रतिशत प्रगति गर्नुपर्नेमा आर्थिक प्रगति २ दशमलव ४९ प्रतिशत मात्रै भएको आचार्यले जानकारी दिए ।

हिमालयन–कालिञ्चोक–बिबिआर ज्वाइन्टभेञ्चरले विसं २०८१ असार २३ गते रु ७८ करोड ५० लाख ९१ हजारमा निर्माण सम्झौता गरेको थियो । सम्झौताअनुसार विसं २०८३ पुस २२ गतेभित्र रङ्गशाला निर्माण सम्पन्न गरिसक्नुपर्ने छ ।

हालसम्म रङ्शालामा पाँच हजार दर्शक क्षमताको प्याराफिटको ढलान सम्पन्न भएको छ । अर्काे दुई हजार दर्शक क्षमताको प्याराफिटको काम भइरहेको छ । दुई वटा टावरमध्ये एउटाको भूइँतलाको ढलान र अर्काेको भूइँको काम भइरहेको छ । यसैगरी दुई सय मिटर नालीको ढक्कन राख्ने, एक सय ५५ मिटर कम्पाउण्ड निर्माण सम्पन्न भई पाँच सय किलोवाट क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ ।

काम ढिलो भएपछि दुई महिनाअघि भरतपुर महानगरपालिकाले निर्माण कम्पनीलाई आर्थिक वर्षभित्रमा ४० प्रतिशत काम सम्पन्न गर्न आग्रह गरेको थियो । महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीसहित प्राविधिक कर्मचारी निर्माणस्थल पुगेर निर्माण व्यवसायीलाई काम छिटो गर्न आग्रह गरिएको थियो ।

प्रकाशित : २०८२ साउन १३ गते १०:२१

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI