कावासोती । साउनको प्रत्येक सोमबार लाग्ने बोलबम मेला पवित्र तीर्थस्थल त्रिवेणीमा बिहानैदेखि सुरु भएको छ । मुख्यगरी आजको दिनमा व्रत बसेर श्रद्धालु भक्तजनहरुले स्नान गरी पवित्र जल र बेलपत्र चढाइ शिवको आराधना गरेर मनाउँछन् । धार्मिक पर्यटकीय क्षेत्र पवित्र तीर्थस्थल नवलपुरको त्रिवेणीधाममा आजदेखि बोलबम मेला सुरु भएको गजेन्द्रमोक्ष दिव्यधाम क्षेत्र विकास समितिले जनाएको छ । धर्मशास्त्रअनुसार वर्षकै पवित्र महिना साउन र त्यसमाथिको पनि पवित्र दिनको रुपमा सोमबारलाई लिइन्छ ।
त्यसैले बिहान ४ बजेदेखि नै स्नान गर्न भक्तजनहरु देवघाटधाम आइपुगेको गजेन्द्रमोक्ष दिव्यधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रस्वर भुसालले जानकारी दिए । उनका अनुसार आइतबार साँझ आएका भक्तजनहरुले बिहान ४ बजे स्नान गरी शिवको पूजा गरी जल लिएर गएको र बिहान आएका भक्तजनहरुको अहिले त्रिवेणीमा घुइँचो छ ।
त्रिवेणी सँगै नवलपुरको दाउन्ने, कावासोतीको नमर्देश्वर शिवालय तथा अन्य क्षेत्रका शिवालयहरुमा पनि सोमबारे मेला अर्थात् बोलबम मेलामा भक्तजनहरु पूजाआजामा व्यस्त छन् । यो मेलालाई बोलबम मेलाको रुपमासमेत मनाइन्छ । महिला तथा पुरुष व्रतालुहरु पहेँलो बस्त्र धारण गरी खाली खुट्टा स्नानका लागि त्रिवेणी आएका छन् ।
त्रिवेणीधाममा स्नान गर्न देबताहरु समेत आउने जन विश्वास रहेकाले यहा स्नान गर्नाले पुन्यमिल्ने परापुर्वकालदेखिको बिश्वास रहेको छ । त्रिवेणीधाम बजारवाट २ किलोमिटर उत्तरमा रहेको गजेन्द्र मोक्षदिब्यधाममा दर्शनार्थीको घुइचो लागेको छ । यो यहाको सबै भन्दा ठुलो र भब्य मन्दिर हो । स्वर्णभद्रा, पुर्णभद्रा र नारायणीनदीको संगमस्थल त्रिवेणीधाम भएकाले यहाँको पवित्र जल र बेलपत्रले शिवको पूजा आराधना गरे आफ्नो मनोकामना पूरा भई सुख शान्ति मिल्ने, परिवारमा शान्ति मिल्ने जनविश्वास रहेको छ ।
साउनको पाँचैवटा सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गरेर बेलपत्र तथा गङ्गाजल शिवमन्दिरमा चढाउने गरिन्छ । यसरी चढाउँदा विवाहिता महिलाहरुले आफ्नो श्रीमानको दीर्घायु र परिवारको सुख समृद्धिको कामना गर्दछन्, भने अविवाहिता महिलाहरुले असल श्रीमानको कामना गर्दछन् । यो समयमा महिलाहरु पहेलो कपडा, हरियो चुरा र मेहन्दीमा सजिने गर्दछन् ।
प्रकाशित : २०८२ साउन ६ गते ८:५८
Facebook Comment