दाउन्नेको जाम रोक्न ४० किलोमिटरवरै रोकिए ट्रक

नारायण शर्मा
प्रकाशित : २०८२ असार २२ गते १३:३३
दाउन्नेको जाम रोक्न ४० किलोमिटरवरै रोकिए ट्रक

कावासोती । पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्डको हिलोमा सवारी साधन फसेर २६ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । दाउन्नेमा जाम नहोस् भनेर प्रहरीले ४० किलोमिटर वरै रजहरमा बिहानैदेखि नारायणगढबाट बुटवलतर्फ जाँदै गरेका ट्रकहरू रोकेको छ ।

पूर्व–पश्चिम गइरहेका सयौँ गाडी दाउन्नेमा अलपत्र परेका छन् । तर राजमार्ग स्तरोन्नतिको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले राजमार्ग खुलाउन कुनै पहल गरेको छैन ।

दाउन्ने पहाडमा जाममा परेका यात्रुहरूको बिजोग भएको छ। ‘दाउन्नेमा अब हप्तौँसम्म जाम भइरहन्छ,’ जिल्ला ट्राफिक प्रहरी निरीक्षक जनकराज बन्जाराले बताए । उनका अनुसार राजमार्ग स्तरोन्नतिको ठेक्का लिएको चिनियाँ कम्पनीले काम नगरेका कारण यस्तो अवस्था आएको हो ।

दाउन्नेको विश्वकर्मा मन्दिरनजिक खाल्डाखुल्डी र हिलोले गर्दा जुनसुकै लोड गाडी फस्ने गरेको छ । आज बिहान दाउन्ने कटेर बर्दघाट आइपुगेका रुपन्देही, शीतलनगरका अपिलनारायण श्रेष्ठले भने, ‘यहाँ मोटरसाइकलसम्म लैजान नसकिने जाम छ । प्रधानमन्त्री हेलिकोप्टरबाट हुम्लामा बनेको बेलिब्रिज उद्घाटन गर्न जानुहुन्छ, तर देशकै मुख्य राजमार्गको यस्तो अवस्था थाहा नपाउनु दुःखद हो । यात्रुहरूको बिजोग छ, यो अवस्था कसले हेर्ने ?’

दाउन्नेको विश्वकर्मा मन्दिरनजिक सामान्य वर्षा हुँदा पनि मालवाहक गाडी फस्ने गरेका कारण दैनिक लामो जाम हुने गरेको छ । तर राजमार्ग स्तरोन्नतिको काम गरिराखेको ठेकेदार कम्पनी बेखबर छ।

प्रकाशित : २०८२ असार २२ गते १३:३३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI