कावासोती । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६९ प्रतिशत पुगेको छ। तेस्रो पटक थपिएको म्याद सकिनै लाग्दा निर्माणको भौतिक प्रगति ६९ प्रतिशत पुगेको नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले जानकारी दिए।
नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो। निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गतेसम्मका लागि दोस्रो पटक म्याद थपिएको थियो। त्यस अवधिमा समेत काम सम्पन्न नभएपछि २०८२ साउन ८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको हो। त्यस अवधिको अन्त्यसम्म आइपुग्दा ६९ प्रतिशत मात्र काम सम्पन्न भएको हो।
सूचना अधिकारी खनालका अनुसार चौथो पटक म्याद थप्ने प्रक्रिया अघि बढाइएको छ। नारायणगढ–बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो। निर्माणको जिम्मा पाएको कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले ५७६ दिन थप म्याद माग गरेको छ। एक वर्षका लागि मात्र म्याद थप्ने तयारी गरिएको सूचना अधिकारी खनालले बताए।
चौथो पटक म्याद थप्ने तयारी हुँदै गर्दा नारायणगढदेखि दुम्कीवाससम्मको खण्डमा एकतर्फी रूपमा ५५ किलोमिटर कालोपत्रे सडकमा यात्रा गर्न सकिने जानकारी उनले दिए। यस खण्डको चोरमारा बजार, अरुण खोला र दुम्कीवास बजारको केही भाग मात्र कालोपत्रे गर्न बाँकी रहेको बताए।
डाइभर्सनको दुःख हट्ने
नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दुम्कीवासको विनयी खोलामा रहेको पुल भाँचिएपछि डाइभर्सनबाट यातायात सञ्चालन गरिँदै आएको थियो। गत पुसमा पुल भाँचिएपछि डाइभर्सनमार्फत यातायात वारपार गरिँदै आइएको हो। पटक–पटक वर्षासँगै आएको बाढीका कारण डाइभर्सन बगाउँदा चालक तथा यात्रुले सास्ती खेप्दै आएका थिए।
आयोजनाले भाँचिएको पुलको छेउमा नयाँ पुल निर्माण गरिसकेको छ। उक्त पुल दुई–तीन दिनभित्र सञ्चालन गरिने जानकारी खनालले दिए। मौसमले साथ दिएमा बुधबार कालोपत्रे गरी ढिलोमा शनिबारभित्र सञ्चालन गर्ने योजना रहेको उनले बताए। नयाँ पुल सञ्चालनमा आएपछि डाइभर्सनका कारण सास्ती खेप्दै आएका यात्रु र चालकलाई सहजता मिल्नेछ।
नवलपुर खण्डमा पर्ने अरुण खोला र गिरुवारी खोलामा बर्खापछि मात्र पुल निर्माण गरिनेछ। सामान्य गर्न मिल्ने केही काम नियमित भए पनि बर्खाअघि यी पुलहरू निर्माण सम्पन्न नहुने जानकारी खनालले दिए।
दाउन्नेमा यातायात सहज बनाउन मर्मत गरिने
नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दाउन्ने खण्डमा यातायात सहज बनाउन अबको काम केन्द्रित गरिने जानकारी खनालले दिए। पानी पर्नासाथ दाउन्ने खण्डमा यातायात सञ्चालनमा समस्या हुँदै आएको छ।
दाउन्ने खण्डमा अब निर्माणको काम रोकेर मर्मतको काम मात्र गरिने जानकारी उनले दिए। कल्भर्ट निर्माणसहितका अन्य काम रोकेर यातायात सञ्चालन सहज बनाउने लक्ष्यका साथ मर्मतको काम गरिने उनले बताए। दाउन्ने खण्डमा ग्राभेल राखेर नियमित मर्मत गरिने र पानी परे पनि यातायात सञ्चालनमा समस्या नआओस् भन्नेमा ध्यान केन्द्रित गरिएको उनको भनाइ छ।
एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा अगाडि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल लागत रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रहेको छ। ११३ किलोमिटरमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६/६ मिटरको सर्भिस लेन हुने र दाउन्नेमा १४ किलोमिटर सडक तीन लेनको रहनेछ।
राजमार्ग विस्तारको यो महत्त्वपूर्ण योजना समयमा सम्पन्न नहुँदा यात्रुले लामो समय सास्ती खेप्नुपरेको छ। अहिले कामले केही गति लिएको र यात्रामा केही सहजता मिल्न थालेको भए पनि दाउन्ने खण्डमा समस्या यथावत् रहेको छ। सामान्य वर्षा हुँदासमेत उक्त क्षेत्रमा सडक चिप्लो भएर घण्टौँसम्म जाममा पर्नुपर्ने बाध्यता कायम छ।
प्रकाशित : २०८२ असार १८ गते १३:०७
Facebook Comment