विनयी खोलाको पक्की पुलमा आउँदो शनिबारदेखि यातायात सञ्चालन हुने

NAWALPUR TIMES

विनयी खोलाको पक्की पुलमा आउँदो शनिबारदेखि यातायात सञ्चालन हुने

कावासोती । महेन्द्र राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्कीवासस्थित विनयी खोलामा निर्माण भएको नयाँ पक्की पुल आउँदो शनिबार साँझदेखि सञ्चालनमा आउने भएको छ।

पुलको ढलान भएको करिब चार साता पछि अब सो पुल भएर नियमित रूपमा यातायात सञ्चालन हुने भएको हो।

सडक आयोजनाको पूर्वी खण्डका प्रमुख ईश्वरबहादुर रिजालले चिनियाँ निर्माण कम्पनी, परामर्शदाता तथा आयोजनाबीचको छलफलअनुसार शनिबार साँझदेखि पुल मार्ग खुला गरिने जानकारी दिए।

यसअघि, विनयी खोलामा करिब ५२ वर्षअघि निर्माण गरिएको फलामे पुल गत पुस २६ गते मालबहाक ट्रक चल्दा भाँचिएको थियो। त्यसपछि अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको थियो।

महेन्द्र राजमार्गको दुम्कीवासदेखि करिब चार किलोमिटर पश्चिममा रहेको विश्वकर्मा बाबाको मन्दिर आसपास सामान्य वर्षा हुँदा हिलोमा गाडी फस्ने र जाम हुने समस्या दोहोरिरहेको छ।

आयोजना प्रमुख रिजालका अनुसार चिनियाँ निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन र परामर्शदाता कम्पनीलाई अबको दुई महिना दाउन्ने सडकमा केन्द्रित भएर काम गर्न निर्देशन दिइएको छ। रिजालले भने, ‘चिनियाँ पक्ष अब काम गर्न र परिणाम देखाउनेतर्फ सकारात्मक देखिएको छ। वर्षाका कारण केही अवरोध भए पनि अब देखिने गरी काम अघि बढ्छ।’

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology