कावासोती । प्रविधिमा युवाको पहुँच र दक्षता बढाउने उद्देश्यसहित नवलपुरमा ३४ जना युवाहरुलाइ तालिम प्रदान गरिएको छ। जिल्लाको सदरमुकाम कावासोतीमा आयोजित ‘ICT बुट क्याम्प तथा जब फेयर’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।
सामाजिक विकास कार्यालय, नवलपुरको आयोजनामा तथा शिव माध्यमिक विद्यालय, कावासोती–२ को सहकार्यमा असार २ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको यो कार्यक्रम नवलपुर जिल्लामा सूचना प्रविधि मैत्री वातावरण निर्माण गर्ने प्रयासस्वरूप आयोजना गरिएको सामाजिक बिकास कार्यालय नवलपुरका प्रमुख कृष्ण प्रसाद पौडेलले बताए ।
जिल्लाका आठवटै स्थानीय तहहरूबाट छनोट गरिएका ३४ जना युवाहरूले सहभागिता जनाएको तालिममा सूचना प्रविधिको आधारभूतदेखि व्यवहारिक सीपसम्म प्रशिक्षण दिइएको थियो। सहभागीहरूले आफूले पहिले नजानेका थुप्रै कुरा सिक्न पाएको प्रतिक्रिया दिएका छन्। तालिमलाई अत्यन्त उपयोगी भन्दै उनीहरूले यस्तो अवसरले आत्मविश्वास र दक्षता बढाएको बताएका छन्। कार्यक्रमको उद्घाटन र समापन प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। उनले प्रविधि र सीप विकास युवालाई आत्मनिर्भर र सशक्त बनाउने मूल आधार भएको उल्लेख गरे। कार्यक्रमको अध्यक्षता कावासोती नगरपालिका वडा नं. २ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पाण्डेले गरेका थिए।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश, पोखरा कार्यालयका महाशाखा प्रमुख प्रकाश देवकोटाले सूचना प्रविधिले युवाको क्षमता अभिवृद्धिमा प्रभावकारी भूमिका खेल्ने बताए। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, सामाजिक विकास कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेल, शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख दिपेन्द्रराज श्रेष्ठ, तथा विद्यालयका प्रधानाध्यापक अर्जुन पौडेलको उपस्थिति रहेको थियो। तालिमका विभिन्न सत्रहरू सूचना प्रविधिका विज्ञ प्रशिक्षकहरू इन्जिनियर रिपेस अधिकारी, इन्जिनियर योगेश रायमाझी र इन्जिनियर केशव मैनालीले सञ्चालन गरेका थिए।
तालिमको अन्त्यमा सहभागीहरूको सिकाइ मूल्यांकन गरिनुका साथै उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई पुरस्कार प्रदान गरिएको थियो। मूल्यांकनका आधारमा सुमित चापागाईं प्रथम, अर्जुन सापकोटा द्वितीय, दिया बराल तृतीय तथा माधव नेपाल र राजु राना मगर सान्त्वना स्थानमा छनोट भए। सामाजिक विकास कार्यालय नवलपुरको सक्रियता र विद्यालयको सहकार्यमा सम्पन्न भएको यो कार्यक्रमले युवाहरूमा प्रविधिप्रतिको रुचि, आत्मबल तथा सशक्तीकरणको भावना थप बलियो बनाएको सहभागीहरूको धारणा रहेको छ।
Facebook Comment