असार १५ देखि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द हुने

NAWALPUR TIMES

असार १५ देखि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द हुने
Jungle Safari

कावासोती । वर्षायाम सुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जभित्र यही असार १५ गतेदेखि जिप सफारी बन्द हुने भएको छ ।

निकुञ्जले हरेक वर्ष असार १५ देखि करिब तीन महिना निकुञ्जभित्र जिप सफारी बन्द गर्दै आएको छ । गत वर्ष असार १६ गतेबाट बन्द भएको जिप सफारी असोज २४ गते फूलपातीदेखि पुनः सञ्चालनमा आएको थियो ।

गत वर्ष असोजमा बाढी आएका कारणले जिप सफारी सञ्चालन गर्न समय लागेको थियो । बर्खाको सिजन छोटो भए असोजको पहिलो साता नै र वर्षातको समय लम्बिए अवस्था हेरेर मात्रै जिप सफारी पुनः खुला गरिन्छ ।

बर्खाले बिगारेको सडक मर्मत, ढलेका रुखहरु पन्छाउने र विभिन्न पुलहरुको मर्मत पछि मात्रै जिप सफारी खुला गरिन्छ ।

वर्षायाममा पानी बढी हुने, खोला खोल्सा बढ्ने, रुखहरु ढल्ने, बाटोसमेत चिप्लो हुने, घाँस पनि बढ्ने एवम् जंगली जनावरहरुसमेत नदेखिने कारणले निकुञ्जले जीप सफारी हरेक वर्ष बन्द गर्दै आएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए ।

निकुञ्ज भित्र जीप सफारी बन्द भए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिकवबनहरुमा भने जीप तथा हात्ती सफारी यथावत नै सञ्चालन हुन्छ ।

निकुञ्जभित्र हात्ती सफारी भने अरु समयमा पनि गर्न पाइँदैन । बर्खाका तीन महिना जिप सफारी बन्द भए पनि जंगल वाक भने रोकिँदैन ।

निकुञ्जले हरेक वर्ष जिप सफारीबाट करोडौं रकम आम्दानी गर्दै आएको छ ।

निकुञ्ज घुम्न आउने अधिकांश विदेशी पर्यटकहरुले जिप सफारी गर्ने गर्दछन् । नेपालीहरुको पनि आर्कषण उस्तै छ ।

चितवन राष्ट्रिय  निकुञ्जमा वर्षमा औंसत दुई लाखभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकहरू आउने तथ्याङ्क छ ।

निकुञ्जले प्रतिजिप प्रवेश शुल्क ५ हजार, विदेशी पर्यटकले प्रवेश शुल्कवापत २ हजार, सार्क मुलुकका पर्यटकले एक हजार र नेपालीलाई १५० रुपैयाँ लिदै आएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology