चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु प्रभावितलाई एक करोड ३३ लाख राहत

सन्जय भट्टराई
प्रकाशित : २०८२ असार ८ गते १५:००
चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु प्रभावितलाई एक करोड ३३ लाख राहत

कावासोती ।  चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट प्रभावितलाई एक करोड ३३ लाख छ हजार ८ सय ४२ राहत प्रदान गरेको छ । निकुञ्जले मध्यवर्ती क्षेत्रभित्रका चार सय १२ घटनाको राहतस्वरुप सो रकम उपलब्ध गराएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गत साउनदेखि चैत मसान्तसम्ममा विभिन्न समयमा निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र वन्यजन्तुले गराएका घटनाबापत सो रकम पीडितलाई बुझाइएको हो ।

उनका अनुसार वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका ९ जनाको परिवारलाई ९० लाख, घाइते २७ जनाको उपचार खर्च १६ लाख ९३ हजार ६४२, दुई सय ४५ वटा खाद्यान्नबाली क्षति घटनातर्फ १४ लाख १७ हजार राहत रकम बुझाइएको हो ।

थापाका अनुसार पशुधन क्षतिको ९५ घटना तर्फ नौ लाख १९ हजार ७ सय , १८ वटा घरगोठ क्षतितर्फ एक लाख ६६ हजार, भण्डारण गरेको अन्नबाली क्षतिको १३ वटा घटनाका लागि ८३ हजार र कुखुरा क्षतिबापत २७ हजार ५०० राहत रकम बुझाइएको छ ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुबाट हुने क्षतिबापत राहत रकम दिने गरिन्छ । मृत्यु भएमा निजको परिवारलाई १० लाख दिने व्यवस्था छ भने घाइते र अन्य क्षतिमा दिइने रकम प्रकृति हेरेर दिइने गरिन्छ  । सूचना अधिकारी थापामगरले भने, ‘वन्यजन्तु मानव बस्तीमा पसेर गर्ने क्षतिको परिपूर्ति हुन नसक्ने भए पनि केही राहत होस् भनेर निकुञ्जले राहत वितरण गर्ने गरेको छ ।’

मानव वन्यजन्तुबीचको द्वन्द्वका कारण हुने यस्ता घटना न्यूनीकरणका लागि निकुञ्जले राहतको कार्यक्रम मात्र नभएर विभिन्न किसिमका चेतनामूलक कार्यक्रम पनि गर्दै आएका छन ।

प्रकाशित : २०८२ असार ८ गते १५:००
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI