गैँडाकोटको बजेट १ अर्ब ८ करोड

NAWALPUR TIMES

गैँडाकोटको बजेट १ अर्ब ८ करोड

कावासोती । नवलपुरको गैँडाकोट नगरपालिकालको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ८ करोड ७२ लाख ४४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

नगर उपप्रमुख शान्ति कोइरालाले नगरसभामा प्रस्तुत गरेको बजेटमा चालु तर्फ ६३ करोड ३१ लाख ४६ हजार अर्थात ५८.२३ प्रतिशत र पूँजीगततर्फ ४५ करोड ४० लाख ९८ हजार अर्थात् ४१.७७ प्रतिशत छुट्टाइएको छ ।

नगरपालिकाले सञ्चित कोष तथा अन्य कोषहरुबाट ५ करोड ५० लाख, आन्तरिक राजश्व २७ करोड ८६ लाख १० हजार, संघीय सरकार तथा गण्डकी प्रदेश सरकारबाट राजश्व बाँडफाँटबाट १६ करोड ६१ लाख ७१ हजार, अन्तर सरकारी वित्तिय हस्तान्तरण तथा अन्तर सरकारी अख्तियारीबाट ५८ करोड ७४ लाख ६३ हजार रकमको अनुमान पेश गरेको छ ।

पालिकाले वडा नं. ३, १४ र १८ लाई ८० लाख र अन्य सबै वडाका लागि ७० लाख रकम विनियोजन गरेको छ । नगरभित्रका गौरवका आयोजनाका लागि १२ करोड ५ लाख, कृषिका लागि १ करोड १० लाख विनियोजन गरेको पालिकाले आगामी आर्थिक वर्षमा गैंडाकोटमा बसपार्क बनाउने योजना सार्वजनिक गरेको छ ।

वडा नं. १, २,१३ र १६ का वडा कार्यालय भवनलाई आगामी वर्ष भित्र नयाँ बनाइसक्ने लक्ष्य नगरपालिकाले लिएको छ । नगरपालिकाले सेवा छिटो, सहज र प्रविधिमैत्री बनाउने उद्देश्यसहित बजेट निर्माण गरेको जनाएको छ। यसपटकको बजेटमा नागरिकका लागि स्वास्थ्य र गुणस्तरीय शिक्षा, विपद् व्यवस्थापन, गरिबी न्युनीकरण र रोजगारी सिर्जनामा विशेष प्राथमिकता दिइएको छ।

नगरपालिकाले साना तथा घरेलु व्यवसाय सञ्चालन गर्ने अपाङ्गता भएका नागरिकहरूलाई कर छुटको व्यवस्थालाई निरन्तरता दिएको छ । ‘क’ र ‘ख’ वर्गका अपाङ्ग व्यक्तिहरूका व्यवसायमा क्रमशः ८० र ७० प्रतिशत छुट यथावत् राखिँदा, ‘ग’ वर्गका अपाङ्ग व्यक्तिहरूका व्यवसायमा पहिलोपटक ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

नगर प्रमुख मदनभक्त अधिकारीले नगरपालिकाको नीति तथा कार्यक्रम पेश गर्दै कृषिको व्यवसायीकरण र बजारीकरण गर्दै परम्परागत कृषिलाई आधुनिक विधिबाट उत्पादनमुखी बनाउने, युवालाई कृषि रोजगारीतर्फ आकर्षित गर्ने लक्ष्य लिइएको जनाए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले चालु आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा ४.५ प्रतिशत प्रशासनिक खर्च घटाइएको जानकारी दिए । खनालले नगरपालिकाले सुशासन, सेवा प्रवाहको छरितोपन, कृषि, पर्यटन, रोजगार र समावेशी समाज निर्माणलाई केन्द्रमा राखेर काम गरेको बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology