३० घण्टाअघिदेखि राजमार्ग ठप्प हुँदा दाउन्नेमा ७७ किलोमिटरसम्म सवारीको लाम,आयोजना निर्देशक नै दाउन्नेको जाममा फसे

NAWALPUR TIMES

३० घण्टाअघिदेखि राजमार्ग ठप्प हुँदा दाउन्नेमा ७७ किलोमिटरसम्म सवारीको लाम,आयोजना निर्देशक नै दाउन्नेको जाममा फसे

कावासोती । निर्माणाधीन बुटवल-नारायणगढ सडक हेर्ने आयोजनाका निर्देशक इन्जिनियर चुडाराज ढकाल आफै जाममा फसेका छन् ।

दाउन्नेमा भइरहेको कामको स्थलगत निरीक्षणमा बुधबार आएका उनी बर्दघाटको जाममा फसेका हुन् । ‘कावासोतीतिर आउनै सकिएन,’ ढकालले टेलिफोनमा भने, ‘आज राजमार्ग हेर्दै कावासोती-नारायणढ आउने कार्यक्रम तय भएको थियो । यति लामो जाममा सम्भव देखिएन ।’

पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्ने सडकको हिलोमा फसेका गाडी निकाल्न नसक्दा राजमार्गमा ७७ किलोमिटरसम्म सवारीको लाम लागेको छ । दाउन्नेमा ३० घण्टाअघिदेखि राजमार्ग ठप्प छ ।

दाउन्नेको विश्वकर्मा मन्दिर नजिक हिलोमा फसेका गाडी ३० घण्टादेखि निकाल्न सकिएको छैन । बुधबार साँझ राजमार्ग सुकेर एक्कैछिन एकतर्फी यातायात सञ्चालन भए पनि राति साढे ८ बजे परेको वर्षाका कारण फेरि हिलाम्य सडकमा गाडी फस्दा राजमार्ग अवरुद्ध भएको हो ।

विनयी खोलाको डाइभर्सन सडकमा बुधबार साँझ करिब २ घण्टा यातायात सञ्चालन हुन दिएर प्रहरीले रोकिदिएको छ ।

पूर्वी नवलपरासीका डीएसपी मधु नेपालले बिहीबार बिहान सार्वजनिक सूचना जारी गरेर दाउन्नेमा राजमार्गको अवस्था खराब भएका कारण अन्य राजमार्गबाट आउजाउ गर्न अनुरोध गरिएको बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology