कावासोती । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति स्थापनाको अवसर पारेर आज एघारौं चुरे संरक्षण दिवस मनाइँदै छ । यही अवसरमा सोमबार नवलपुरको कावासोतीमा आयोजित वृक्षारोपण कार्यक्रमको शुभारम्भ राष्ट्रपति रामचन्द्र पौडेलले गरेका छन ।
चुरेको प्राकृतिक स्रोत संरक्षण, दिगो व्यवस्थापन, पारिस्थितिकीय सेवाको संवर्धनद्वारा गरिबी न्यूनीकरणमा टेवा पुर्याउने लक्ष्यका साथ समितिको स्थापना २०७१ असार २ गते भएको हो । स्थापना भएयता समितिले हालसम्म एक हजार ४५९ स्थानमान गल्छी, पहिरो, खहरे नियन्त्रण, १६६ हेक्टर भिरालो कृषि भूमिमा बहुवर्षीय बाली विस्तार गरेको जनाएको छ । त्यस्तै पाँच हजार २३० हेक्टरमा हरियाली प्रवर्धन कार्यक्रम गरेको र दुई करोड ९३ लाख ४९ हजार बिरुवा उत्पादन र वितरण गरेको समितिको उपलब्धि विवरणमा उल्लेख गरेको छ ।
हालसम्म नदी-खोला किनारामा ४१२ किमी तटबन्ध निर्माण, १६२ हेक्टर हरित पेटिका निर्माण, १३९ सिमसार तालतलैया संरक्षण/पुनःनिर्माण, ६२८ वर्षातको पानी संकलन पोखरी निर्माण र ५४८ वटा पानी मुहान संरक्षण गरिएको छ । त्यस्तै समितिको स्थापना भएयता चुरे संरक्षणका नाममा झन्डै १५ अर्ब खर्च भइसकेको छ । समितिले आर्थिक वर्ष २०८०/८१ सम्म १४ अर्ब ९६ करोड खर्च गरेको छ । समितिका अनुसार यस अवधिमा वित्तीय प्रगति ८८ दशमलव ९३ र भौतिक प्रगति ९१ दशमलव ८४ प्रतिशत भएको छ । समितिमा मासिक तलब सुविधा प्राप्त गर्नेछ । पदाधिकारीसहित १२४ जना कर्मचारीको दरबन्दी रहेकामा हाल ८६ जनाको पदपूर्ति रहेको छ ।
ललितपुरमा केन्द्रीय कार्यालय रहेको समितिले मुलुकभर सलकपुर, जनकपुर, चितवन, बुटवल र लम्कीमा कार्यक्रम कार्यान्वयन इकाई स्थापना गरी काम गर्दै आएको छ । चुरे क्षेत्र सात प्रदेशका ३७ जिल्ला र ३२५ स्थानीय तहमा फैलिएको छ । कमलो भूबनोट, जनसङ्ख्या बसाइँसराइ, जलवायुजन्य जोखिम, आगलागी लगायतका कारणले पछिल्लो समय चुरे विनाश हुने क्रम बढ्दै गएको छ ।
प्रकाशित : २०८२ असार २ गते १२:०७
Facebook Comment