दाउन्नेमा ढलान सडक निर्माण सुरु

NAWALPUR TIMES

दाउन्नेमा ढलान सडक निर्माण सुरु

कावासोती । महेन्द्र राजमार्ग अन्तर्गतको दाउन्ने सडकको पहाडी खण्डमा ढलान सडक निर्माण सुरु भएको छ । पहिलो चरणमा दुवै खण्डको ५ सय मिटर सडक ढलान गरिएको छ ।

राजमार्ग निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदारले ठेक्का सकार्दा ३० प्रतिशत रकम छोडेर (टेन्डर हाल्दा ३० प्रतिशतमुनि हालेको) टेन्डर सकारेको हो ।एसियाली विकास बैंकबाट लिएको ऋण सहयोगमध्ये त्यही ३० प्रतिशत रकम सरकारी कोषमा रहेको छ । त्यसै कोषबाट व्यवस्थापन गर्नेगरी हाल परीक्षणका रूपमा दुवैतर्फबाट (दुम्कीबास र बर्दघाट तर्फबाट) ५ सय मिटर सडक ढलान भइसकेको छ ।

सडक आयोजना निर्देशनालय काठमाडौँका प्रमुख इन्जिनियर चुडाराज ढकालका अनुसार दाउन्ने सडक खण्डमा थप साढे २ किलोमिटर ढलान सडक निर्माणका लागि अनुमति दिइसकेको जानकारी दिए । कालोपत्रे सडकभन्दा ढलान सडक ६ गुणा बढी टिकाउ हुने उनले सुनाए । ‘सुरुमा लागत रकम केही बढेको देखिएपनि यो राजमार्ग कालोपत्रेभन्दा ६ गुणा बढी बलियो हुँदा बर्सेनि मर्मत गरिरहन पर्ने झन्झट हुँदैन,’ उनले भने, ‘आफ्नै देशको बालुवा र सिमेन्टको प्रयोगबाट निर्माण हुने भएकाले यसमा खर्च हुने रकम ( लागत रकम) पनि स्वदेशमै जाने भएकाले यो प्रविधि बढी किफायती हुने देखिएको देखिन्छ ।’

सडक निर्माणको काम गरिरहेको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले दाउन्नेको सडक ढलानमा पूर्वी नवलपरासीमै कारखाना रहेको चिनियाँ लगानीको होङ्सी सिमेन्ट प्रयोग गरिरहेको छ । चिनियाँहरुले संसारका जुनसुकै देशमा गर्ने निर्माणको कार्यमा सम्भव रहेसम्म आफ्नै देशको उत्पादन (चिनियाँ सिमेन्ट कारखानाबाट उत्पादित सिमेन्ट) प्रयोग गर्ने प्रचलन रहेको ठेकेदार कम्पनीले बतायो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology