कविता : अन्तरमनको बह

NAWALPUR TIMES

कविता : अन्तरमनको बह
rajan pandey1689855029

ए सानु । मेरो सपनाको फूल ।
तिमीलाई बधाई छ।
तिमी करोडौं सुक्राणुमध्ये एउटा विजेता हौ ।
करोडौँ प्रतिस्पर्धी बीचको एक अद्वितीय जीतका लागि फेरि पनि बधाई छ।

ए मेरो धड्कन ।
म आज तिमीलाई अन्तर मनको बहस सुनाउँदै छु।
प्रकृति प्रवृत्ति र परिस्थितिको
विकृत क्यान्भास भित्रको मेरो दैनिकीले
तिमीलाई गर्भमा कति न्याय गर्न सक्ला र खै !

खैर!
मेरो अन्तर मनको दियो ननिप्दा सम्म गर्भमा तिमीलाई जोगाउनेछु। हँसाउने छु।

ए मेरो काखको जुन !
तिमीले छिट्टै धरतीमा टेक्नुपर्नेछ।
गाँस,बास, सम्बन्ध र रुचिहरूको अस्थिर डुङ्गा तर्नुपर्नेछ।
जिम्मेवारी, प्रतिस्पर्धा र आदेशहरूको काँडेदार बाटोमा अब्बल देखिनुपर्नेछ।

ए मेरो मुटुको तारा !
तिमीले लिने सास,
तिमीले टेक्ने धर्ती,
तिमीले पिउने पानी

तिमीले हेर्ने दृश्यले पवित्रताको रक्षाका लागि भिख मागिरहेका छन्।
तिम्रो उपस्थिति साधक बनोस्। बाधक नबनोस् है।

ए मेरो आशाको पुञ्ज !
तिमी धर्तीमा आएपछि,
कोही रहरले कोही कहरले,
देश छाड्ने युवाहरूको ताती देख्नेछौ ।
बस्ती अन्तै सरेको सदरमुकाम जस्तो
सुनसान गाउँ देख्नेछौ ।
छाडिएका घर र बाँझिएका खेतपाखाहरू देख्नेछौ ।
गुँण र प्राण कुरिरहेका वृद्ध बाआमाहरू देख्नेछौ ।
यो देखेर कति पनि विचलित नहुनु है ।

ए मेरो प्राण ।
तिमीले यहाँ,
कोही कानुन मागेर,
कोही न्याय मागेर,
कोही उत्पादित वस्तुको बजार मागेर,
कोही श्रमको मूल्य मागेर,
कोही बेपत्ता परिवारको पत्तो मागेर,
सडकमा आवाज पोखिरहेका देख्नेछौ ।।

यो देखेर चेतनालाई कति पनि विक्षिप्त नबनाउनु है ।

ए मेरो आशाको दियो ।
तिमीले यहाँ,
पत्रु खानाले जिब्रोमा राज गरे जस्तै,
पत्रु शासकको शासनमा राज देख्नेछौ ।
ऋण खोजेर ऋण तिर्दै गरेको देश भोग्नेछौ ।
जन्मँदै राष्ट्रको ऋणको साझेदार बन्नेछौ। ।
यो देखेर कति पनि नडगमगाउनु है।

ए मेरो मुटुको टुक्रा ।
तिमीले यहाँ,
दर्वेशसँग जोडिएको सम्बन्धको बहुरङ देख्नेछौ।
भर्याङलाई भुइँको विश्वास,
मसीलाई निभको विश्वास,
श्रीमतीलाई श्रीमानको विश्वास,
दियोलाई पालाको विश्वास, र
फुललाई डालीको विश्वास गुमेको परिस्थिति भोग्नेछौ ।

यो देखेर कति पनि नबिथोलिनु है।।

ए मेरो संसार ।
तिमी खुसी साथ धर्तीमा आउनु,
संकल्प, साधना र सङ्घर्षलाई स्वीकार गर्नु ।
हिजो नभएको कुरा आज छ,
आज नभएको भोलि हुनेछ ।
आशाको दियो बाली राख्नु ,
कर्मशील पाइला थाली राख्नु ।।
कर्मशील पाइला थालीराख्नु ।।।
तिम्री आमा तिम्रो हर सासमा साथमा हुनेछु।।।।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology