नेकपा माओवादी केन्द्रको ‘तराई–मधेश जागरण अभियान’ वैशाख २ गते नवलपुरबाट सुरू हुने

NAWALPUR TIMES

नेकपा माओवादी केन्द्रको ‘तराई–मधेश जागरण अभियान’ वैशाख २ गते नवलपुरबाट सुरू हुने

कावासोती । नेकपा माओवादी केन्द्रले सञ्चालन गर्न लागेको तराई–मधेश केन्द्रित जागरण अभियान यही वैशाख २ गते नवलपुरको गैडाकोटबाट औपचारिक रूपमा सुरू हुने भएको छ। यसअघि स्थगित गरिएको उक्त अभियानलाई पुनः सुरु गर्दै पार्टीले गैडाकोटलाई उद्घाटनस्थलको रूपमा तय गरेको हो।

पार्टीका केन्द्रीय सदस्य तथा नवलपुर जिल्ला इञ्चार्ज धनप्रसाद सापकोटाका अनुसार वैशाख २ गते बिहान गैडाकोटबाट अभियानको विधिवत शुभारम्भ गरिनेछ। अभियानको तयारीका सिलसिलामा माओवादी जिल्ला कमिटीको टोली आइतबार खुमलटारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगेको थियो।

छलफलपछि अध्यक्ष प्रचण्ड वैशाख १ गते साँझ नवलपुर आइपुग्ने र वैशाख २ गते बिहानै अभियान उद्घाटन गर्ने तय भएको सापकोटाले जानकारी दिए। “अभियानको नेतृत्व स्वयं अध्यक्ष प्रचण्डले गर्नुहुनेछ,” सापकोटाले भने, “यो अभियान तराई–मधेशमा संगठन विस्तार र जनसंपर्क सुदृढीकरणमा निर्णायक हुनेछ।”

जिल्ला कमिटीले प्रचारप्रसार, स्वागत, आवास र यातायात व्यवस्थापनलगायतका उपसमिति गठन गरी तयारी तीव्र पारेको जनाएको छ। पार्टी स्रोतका अनुसार अभियान अन्तरगत मधेश र तराईका जिल्लाहरूमा शीर्ष नेताहरूको सहभागितामा आमसभा, जनसंवाद तथा संगठन सुदृढीकरण कार्यक्रमहरू सञ्चालन गरिनेछ।

पार्टीले यो अभियानलाई ‘जनताको बीचमा पार्टी, परिवर्तनको एजेन्डा र प्रतिगमन विरुद्धको अभियान’ का रूपमा व्याख्या गरेको छ। नेताहरूका अनुसार विगतमा स्थगित अभियानलाई पुनः सुरु गर्नु पार्टीको रणनीतिक पुनर्संरचना र स्थानीय तहको संगठनात्मक पुनर्गठनसँग सम्बन्धित छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology