मालपोत कार्यालय कावासोतीमा कर्मचारी–बिचौलिया मिलेमतो, सेवाग्राही ठगिँदै

दीपक भट्टराई
प्रकाशित : २०८१ फागुन २४ गते १६:५६
मालपोत कार्यालय कावासोतीमा कर्मचारी–बिचौलिया मिलेमतो, सेवाग्राही ठगिँदै

कावासोती । नवलपुरको मालपोत कार्यालय कावासोतीमा कर्मचारी र बिचौलिया सम्वन्धको प्रभाव बढ्दै जाँदा सेवाग्राहीहरूले सास्ती भोग्नुपरेको छ।
सहज रूपमा सेवा लिनुपर्ने नागरिकहरू फाइल पास गराउने नाममा बिचौलियाको चंगुलमा पर्न बाध्य भएका छन्। साना कामका लागि पनि अतिरिक्त शुल्क तिर्नुपर्ने अवस्था सिर्जना हुँदा सेवाग्राही अन्यायमा परेका हुन ।

सरकारी कार्यालयमार्फत सहज सेवा उपलब्ध गराउने व्यवस्था भए पनि मालपोत कार्यालय परिसरमै खुलेआम बिचाैलीयाकाे बिगबिगी भइरहेको गुनासो बढ्दै गएको छ।
स्थानीयवासी तथा सेवाग्राहीहरूले मालपोत कार्यालयका केही कर्मचारी र बिचौलिया बीचको मिलेमतोका कारण सेवा प्रवाहमा व्यापक ढिलाइ हुने र अनावश्यक झन्झट भोग्नु परेको बताएका छन्।

कतिपय सेवाग्राहीले कार्यालयमा आफ्ना काम लिएर जाँदा सिधै कर्मचारीसँग सम्पर्क गर्नसमेत नसकिने गुनासो गरेका छन्। बिचौलियाहरू कार्यालय परिसरभित्रै सक्रिय रहँदै सेवाग्राहीलाई विभिन्न बहानामा ठग्ने समेत गरेको सेवाग्राहीले गुनासो गर्ने गरेका छन ।

मालपोत कार्यालयमा देखिएको अनियमितताका कारण सिधासाधा सेवाग्राही प्रभावित भएका छन्। नामसारी, लालपुर्जा सुधार, जग्गा नापजाँच, किनबेच र कागजात प्रमाणीकरण जस्ता सेवाका लागि सेवाग्राहीले निकै लामो समय पर्खनुपर्ने बाध्यता रहेको छ। कतिपय अवस्थामा फाइल अगाडि बढाउनकै लागि सेवाग्राहीहरूले अनिवार्य रूपमा रकम बुझाउनु पर्ने अवस्था छ।

मालपोत कार्यालयमा सेवा लिन जाँदा अनावश्यक झमेला झेल्नुपरेको भन्दै सेवाग्राहीहरू असन्तुष्ट देखिएका छन्। देबचुलीका एक सेवाग्राहीले केही दिन अघि आफ्नै नामको जग्गा बिक्री गर्न जाँदा कर्मचारीहरूले काम अघि बढाउन ढिलासुस्ती गरेको र बिचौलियामार्फत आर्थिक लेनदेन गर्न बाध्य बनाएको दुखेसो सुनाए ।
“आठदिन धाएँ, १५ दिन लाग्यो, तर काम भएन,”पैसा नदिए फाइल अघि बढ्दैन, एक दिनमा सकिने काम पनि हप्तौं लाग्छ, तर पैसा बुझाए तुरुन्तै काम हुन्छ,” ती सेवाग्राहीले दुखेसो पोख्दै भने।

मालपोत कार्यालयको सेवा प्रवाह प्रति असन्तुष्टि जनाउँदै कावासोती ८ का एक सेवाग्राहीले भने, “काम गर्न आउँदा कर्मचारीभन्दा पहिला बिचौलिया भेटिन्छन्। उनीहरूकै सिफारिसमा काम गर्नुपर्छ, नत्र महिनौँ कुरेर बस्नुपर्छ।” उनले भने, “हामीले आवश्यक कागजात लिएर जाँदा पनि सानातिना कमजोरी देखाएर फिर्ता पठाइन्छ। फाइल प्रक्रिया पूरा गर्न पटक–पटक कार्यालय धाउनु पर्छ। यसै कारण सेवाग्राहीहरू बिचौलियाको भर पर्न बाध्य हुनुपरेको छ।”

अन्य सेवाग्राहीहरूले पनि मालपोत कार्यालयमा अनावश्यक ढिलासुस्ती र आर्थिक अनियमितता बढेको र बिचौलियाको प्रभाव बढ्दै गएको आरोप लगाउदै आईरहेका छन्।

त्यस्तै, गैडाकोटका अर्का सेवाग्राही नवीन सापकोटाको अनुभव पनि उस्तै छ। उनी भन्छन्, “धेरै पटक सानो गल्ती देखाएर फाइल रोकिन्छ। कर्मचारीहरूसँग बुझ्न जाँदा प्रष्ट जानकारी पाइँदैन। तर, बिचौलियामार्फत काम गरायो भने काम छिटो हुने गरेको समेत बताए।” उनले भने, “नियमित प्रक्रिया पूरा गरे पनि फाइल अघि बढ्न हप्तौं लाग्छ। मालपोत कार्यालयका कर्मचारीले बारम्बार नयाँ कागजात माग्दै काम लम्ब्याउने समेत गरेको उनको आरोप छ।”

जग्गा नामसारी, धितो राख्ने तथा अन्य कानुनी प्रक्रिया पूरा गर्नका लागि पनि सेवाग्राहीले लामो समय कुर्नुपरेको गुनासो सेवाग्राहीको छ।

मालपोत कार्यालयका कर्मचारीहरू भने सेवाग्राही स्वयंले आवश्यक कागजात पूरा नगरेकाले ढिलाइ भएको हुन सक्ने बताउँछन्।

मालपोत कार्यालय कावासोतीका निमित्त प्रमुख धनश्याम गाहाले भने“हामी कानुनी प्रक्रिया पूरा गरेर मात्र फाइल अघि बढाउँछौं, तर सेवाग्राहीले आवश्यक कागजात नबुझाएका कारण ढिलाइ भएको हुनसक्छ।”

“हामी सेवाग्राहीलाई सहज सेवा दिन प्रयत्नशील छौँ। तर, कतिपय अवस्थामा सेवाग्राहीले नै आवश्यक कागजात पूरा नगर्दा समस्या आउने गर्छ।” उनले भने, कार्यालयले बिचौलियामुक्त सेवा दिन खोजे पनि कतिपय सेवाग्राही नै बिचौलियाको भर पर्न खोज्ने प्रवृत्तिका कारण समस्या भएको हुन सक्ने बताए। उनले थप्दै भने, “हामी सेवाग्राहीलाई कार्यालयमा सिधै सम्पर्क गर्न आग्रह गर्छौं। कुनै गलत क्रियाकलाप देखिएमा जानकारी गराए तुरुन्त कारबाही प्रक्रिया अघि बढाउँछौँ।”

तर, सेवाग्राहीहरू भन्छन्, कार्यालयले नै काम सहज गरिदिन सके बिचौलिया प्रवृत्ति हट्न सक्छ। “यदि कार्यालयभित्रका कर्मचारीले सिधा र छिटो सेवा दिए, प्रक्रियागत झन्झट कम गरे, र पारदर्शिता अपनाए, भने बिचौलियाको प्रभाव जरैबाट अन्त्य हुन्छ। तर, अहिलेको अवस्थामा, सेवाग्राहीहरू आफैँ दौडधुप गर्नुपर्ने, बारम्बार नयाँ कागजात माग्ने, अनि केही कर्मचारीले सेवाग्राहीलाई सिधा कुरा नगरी बिचौलियामार्फत काम गर्न सजिलो बनाउने प्रवृत्ति भएका कारण समस्या थपिएको बताउने गरेका छन ।

प्रमुख जिल्ला अधिकारीको चेतावनी :
“सेवाग्राहीलाई दुःख दिने कार्य सह्य हुँदैन”

455x WhatsApp Image 2024 08 05 at 10.13.26~2

प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले सेवाग्राहीलाई दुःख दिने कार्य कुनै हालतमा सह्य नहुने स्पष्ट पार्दै त्यस्तो कार्यमा संलग्न जोसुकैलाई कारबाही गरिने चेतावनी दिएका छन्।

मालपोत कार्यालयको काम कारबाहीबारे गुनासा आएको जानकारी दिँदै उनले अनुसन्धान भइरहेको बताए। उनले भने, “सेवाग्राहीलाई अनावश्यक झन्झट दिने काम कुनै हालतमा हुन हुँदैन। यदि बिचौलियामार्फत काम भएको प्रमाणित भए, कडा कारबाही गरिनेछ।”

प्रजिअ पोखरेलले नागरिकलाई सहज सेवा प्रदान गर्न प्रशासन गम्भीर रहेको उल्लेख गरे। उनले थपे, “हामी कुनै पनि सेवा संस्थानमा भ्रष्टाचार र अनियमितता हुन नदिन कटिबद्ध छौं। मालपोत कार्यालयका केही कार्यशैलीप्रति केही गुनासाहरू आएका छन्, हामी अनुसन्धान गरिरहेका छौं। दोषीलाई कानुनी दायरामा ल्याइनेछ।”

उनले नवलपुरमा सेवा प्रवाहलाई सहज बनाउन प्रशासनले अनुगमनलाई तीव्र बनाएको समेत जानकारी दिए।

मालपोत कार्यालय प्रमुखहरू नै बारम्बार सरुवा माग्न बाध्य

कावासोती स्थित मालपोत कार्यालयका प्रमुखहरूले बारम्बार सरुवा मागेर जाने क्रम जारी रहेको छ। कार्यालयभित्र बढ्दो अनियमितता, केही कर्मचारी र बिचौलियाको बिगबिगीका कारण कार्य सम्पादन गर्न असहज भएको भन्दै कार्यालय प्रमुखहरू केही महिनामै सरुवा माग्न बाध्य हुने गरेका छन्।

एक स्रोतका अनुसार पछिल्लो केही समययता मालपोत कार्यालयका प्रमुखहरू लामो समय टिक्न नसक्ने अवस्था सिर्जना भएको छ। दुई–तीन महिनामै कार्यरत प्रमुखले सरुवाका लागि निवेदन दिने गरेको पाइन्छ। स्रोतका अनुसार कार्यालयभित्र देखिएको अराजकता, तथा भ्रष्टाचारजन्य गतिविधि तथा बिचाैलीयाकै कारण जिम्मेवार अधिकृतहरूले निरन्तरता दिन नसक्ने अवस्था छ।

कानुनी रूपमा सेवाग्राहीलाई प्रत्यक्ष सेवा प्रदान गर्नुपर्ने मालपोत कार्यालयमा केही व्यक्तिहरूले बिचौलियामार्फत काम गराउन दबाब दिने गरेका छन्। स्रोतका अनुसार मालपोत कार्यालयका केही कर्मचारीहरू नै बिचौलियासँग मिलेर अनधिकृत रूपमा सेवाग्राहीसँग आर्थिक लेनदेन गर्दै आएको आशंका गरिएको छ।

एक सेवाग्राहीका अनुसार, “यहाँ सरोकारवाला निकायले ध्यान नदिँदा बिचौलियाको चलखेल बढ्दै गएको छ। कार्यालय प्रमुखहरू ईमानदार भए पनि काम गर्न सक्ने अवस्था छैन।”

कार्यालय प्रमुखहरू बारम्बार परिवर्तन हुँदा सामान्य सेवा लिन समेत सेवाग्राहीलाई समस्या पर्ने गरेको छ। एक स्थानीयले भने, “नयाँ प्रमुख आउनासाथ केही सुधारको आशा पलाए पनि दुई–तीन महिनामै सरुवा भएपछि पुरानै अवस्था दोहोरिन्छ।”

यसरी प्रमुखहरूको बारम्बार सरुवाको कारण कार्यालयको कार्यसम्पादन कमजोर हुने तथा सेवाग्राहीले उचित सेवा नपाउने अवस्थाको अन्त्य गर्न सरोकारवाला निकायहरूले पहल गर्नुपर्ने आवश्यकता छ। मालपोत कार्यालयभित्र हुने अनियमितता, बिचौलियाको प्रभाव नियन्त्रण गर्न सम्बन्धित निकायले ठोस कदम चाल्नुपर्ने माग उठ्न थालेको छ।

बिचौलिया समस्या समाधान गर्न सेवाग्राहीलाई कार्यालयमै सिधा सेवा लिन प्रेरित गर्नुपर्ने, अनलाइन प्रणालीलाई प्रभावकारी बनाउने, निगरानी संयन्त्र बलियो पार्ने, र अनियमिततामा संलग्न कर्मचारीलाई कारबाही गर्नुपर्ने सुझाव सेवाग्राहीले दिएका छन्।

सेवाग्राहीले आफूले भोगेका समस्या उजुरी गर्न सक्ने व्यवस्था भए पनि कारबाही प्रभावकारी नहुँदा मालपोत कार्यालय कावासोतीमा बिचौलियाको जालो अझ बलियो बन्दै गएको छ। यदि समयमै समस्या समाधान गरिएन भने नागरिकको प्रशासनिक काम झनै जटिल बन्ने देखिएको छ।

प्रकाशित : २०८१ फागुन २४ गते १६:५६

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI