रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०८१ पुष ७ गते ८:५४
रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता हुँदै

कावासोती  ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा आज आइतबार मुद्दा दर्ता हुँदैछ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रविविरुद्ध मुद्दा दायर गर्न लागेको हो ।

रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा अभियोग दर्ता गर्ने तयारी सरकारी वकिलको छ । पूरक जाहेरी लिएपछि पक्राउ परेका र हाल थुनामा रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, नेटवर्कका सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसहित ५१ जनाविरुद्ध आइतबार अभियोग दर्ताको तयारी छ ।

कात्तिक २ गते पक्राउ परेका रास्वपा सभापति लामिछाने प्रहरी हिरासतमै छन ।

‘पूरक जाहेरीपछि अनुसन्धान गर्दा ५१ जना प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध आज आइतबार अभियोग दर्ता गर्छौं,’ जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले भनिन्, ‘अभियोग दर्ता भएपछि हामी वेबसाइटमै राख्छौं ।’

यसअघि सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरी भएको ठगी सम्बन्धमा शुक्रबार गितेन्द्र बाबु राई (जीबी राई) सहित १९ जनाविरुद्ध थप अभियोगमा पत्र दायर भइसकेको छ । उनीहरूविरुद्ध पहिले नै मुद्दा दर्ता भइसकेको थियो ।

प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको मिसिल प्रतिवेदनअनुसार ५१ जनाविरुद्ध कैद सजायसँगै १ अर्ब ५५ करोड बिगो माग दाबी गरिएको छ ।

यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीले बचतकर्ताको उजुरीपछि अनुसन्धान गरेर तयार गरेको प्रतिवेदन १६ असोजमा सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो ।

सोही प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले १९ जनालाई प्रतिवादी बनाउँदै सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु राई, उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराईविरुद्ध मुद्दा दायर गरेको थियो ।

त्यस्तै, सरकारी वकिल कार्यालयले सहकारीकै पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ, भविश्वर अर्याल र आइस्मा गुरुङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङविरुद्ध मुद्दा दायर गरेको थियो ।

तत्कालीन समयमा १ हजार ३६ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए।

प्रहरीलाई दिएको जाहेरीमा खुलेको बिगो रकम १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ भए पनि महानगरले बनाएको विज्ञको प्रतिवेदनअनुसार ठगिएको रकम १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ रुपैयाँ रहेको थियो ।

जीबीको कार्यकालमा २१ करोड २४ लाख, उनका दाजु भूपेन्द्र अध्यक्ष हुँदा ८० करोड ७० लाख र वर्तमान अध्यक्ष थानबहादुर बुढाको पालामा २७ करोड हिनामिना भएको अनुसन्धानबाट देखिएको थियो ।

सरकारी वकिल कार्यालयका अनुसार १९ जना प्रतिवादीबाट १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ बिगो दाबीका साथै आठदेखि १० वर्ष कैद सजाय माग गरिएको थियो ।

शुक्रबार दायर गरिएको अभियोग पत्रमा सहकारी ठगीअन्तर्गत थप ४० करोड २० लाख ७६ हजार १४९ रुपैयाँ बिगोसहित मागदाबी गरिएको छ ।

योसँगै कुल बिगो १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ पुगेको छ । शुक्रबार थप अभियोग पत्र दायर गरिएका १९ मध्ये जीबीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगसमेत थपिएको न्यायाधिवक्ता काफ्लेले जानकारी दिइन् ।

प्रकाशित : २०८१ पुष ७ गते ८:५४

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI