नमुना सदरमुकाम : रूख हटाउदा अति संकटापन्न पंक्षीका बास उजाडिने त्रास

NAWALPUR TIMES
प्रकाशित : २०८१ भदौ १५ गते ८:४७
नमुना सदरमुकाम : रूख हटाउदा अति संकटापन्न पंक्षीका बास उजाडिने त्रास

घनश्याम बगाले, कावासोती । पूर्वी नवलपरासीमा नमुना सदरमुकाम बनाउन रूख हटाउदा अति संकटापन्न पंक्षीका बास उजाडिने त्रास बढेकाे छ ।

विगतमा स्थानीय द्वारा संरक्षित यस क्षेत्रकाे ज्याेतिकुञ्ज सामुदायिक वनमा प्रकृतिका कुचिकार गिद्ध प्रजातिका २ दर्जन बढी गुँड रहेकाछन् ।

सदरमुकाम निर्माणका लागि यहाँको करिव १२४.८९ हेक्टर जमिनमा सडक पूर्वाधार बनाई प्रयाेजनका हिसावले बिभाजन गरिएकाे छ ।

यही जमिनमा संघ, प्रदेश र स्थानीय, सरकारी तथा सेवा प्रदायक कार्यालयका गरि ४५ भवन, फुटबल र क्रिकेटका २ रंगशाला, स्मृतिपार्क समेतका निर्माण कार्य सहरी बिकास तथा भवन निर्माण कार्यालय भरतपुरले गर्ने बृहद गुरुयाेजना रहेकाे छ ।
जसका लागि भ्याट सहित २ अर्व ६८ कराेड २८ लाख २७ हजार २ सय ४७ रूपैयाँ खर्च हुने अनुमानित लागत विवरण तयार गरिएको छ ।

निर्माण क्षेत्रका रूख हटाउन कटान आदेश माग

नमुना सदरमुकाम बनाउन ५ सय ५२ ठूला रूख र ९० खम्बा साईजका बाेट बिरूवा हटाउनु पर्ने इआईए प्रतिवेदनमा उल्लेख रहेकाे बताईएकाे छ ।

यसैका लागि सरकारी स्वामित्वका रूख हटाउने मापदण्ड ऐन २०७१ अनुसार स्थानीय डिभिजन वन प्रमुखकाे संयाेजकत्वमा जाँचबुझ समिति बनेकाे छ ।
साेही बिषयमा जाँचबुझ समिति संयाेजक बसन्त केशव अधिकारीले इआईए प्रतिवेदनका आधारमा समितिबाट सिफारिस भई कटान आदेशका लागि नम्वरिङ्ग सहितकाे फाईल वन मन्त्रालय पुगि सकेकाे बताउनुहुन्छ । कटान आदेश आउना साथ रूख हटाई प्रस्तावित आयाेजना स्थलमा पहिलाे चरण अन्तर्गत अत्यावश्यकीय प्रशासनिक भवन तथा २ ओटा एकिकृत भवन बनाउने तयारी रहेकाे छ ।

ईआईए प्रतिवेदनले आयाेजना स्थलमा ४ सय ६ सिसाै, ८७ करम, ३४ सिमल, ६ जामुनाे, १९ बर्राे, ९ बकाईनाे, ३ टिक र २ सालका रूख रहेकाे उल्लेख गरेकाे छ ।
यही बिषयले रूख कटान हुदै गर्दा गिद्ध अर्थात जटायुकाे बासस्थान जाेगाउन चुनाैति देखिएकाे छ भने मानव र पंक्षीकाे सहअस्थित्वमा पैदा हुँदै गरेकाे संकटले संरक्षणकर्मीलाई चिन्तित तुल्याएकाे बताईन्छ ।

यहाँका ठूला साना रूखलाई गिद्ध,चिल जस्ता पंछीले आहार तथा बिचरणका लागि पूर्व पश्चिम उत्तर दक्षिण गरी फर्कने प्राकृतिक बासस्थान बनाउदै आएकाछन् ।
संरक्षणकर्मीहरू प्रस्तावित नमूना सदरमुकाम क्षेत्रकाे उत्तर पश्चिम भागका धेरै जसाे करमका रूखमा गिद्धका प्रशस्त गुँड देखिएकाले ती रूखकाे संरक्षण गरिनु पर्ने बताउँछन् ।

 

इआईए प्रतिवेदनकाे, जैविक प्रभावमा सतही मुल्यांकन

आयाेजना स्थल इआईएमा ५ ओटा ठूला सिमलका बाेटमा गिद्धका गुँड रहेकाेले तिनका बच्चा हुर्के पछि वनकाे समन्वयमा रूख हटाउने भनि रहदा यहाँका अन्य दर्जनाैं रूखमा रहेका गिद्धका गुँडबारे प्रतिवेदनकाे सतही मुल्यांकन प्रति स्थानीयले आश्चर्य व्यक्त गरेकाछन् ।

यता इआईए परामर्शदाताका तर्फबाट वातावरणविद रेडियम अधिकारीले अध्ययनका क्रममा साे स्थानमा ५ /६ वटा गिद्धका गुँड देखिएकाे र निर्माण क्षेत्रबाट हटाउन पर्ने रूखकाे संख्या मात्र प्रतिवेदनमा उल्लेख गरिएकाे बताउनु भयाे ।

यसै सम्बन्धमा पंक्षीविद एवं जटायु रेष्टुरेन्ट व्यवस्थापन समिति अध्यक्ष डिबी चाैधरीले नमुना सदरमुकाम क्षेत्रकाे वनमा सेताे खैराे र अधिकांस डंगर प्रजातिका गिद्धका गुँड रहेकाे दाबी गर्नुहुुन्छ ।

चाैधरीका अनुसार उक्त क्षेत्र पाेखरा लगायत पहाडी तथा हिमाली भू भागबाट आउने आईयुसिएनकाे १ नम्वर अनुसुचीमा सुचिकृत अति संकटापन्न गिद्धहरूकाे प्राकृतिक बासस्थान हाे ।

अर्का संरक्षणकर्मी, पंक्षी संरक्षण संघ कास्कीका अध्यक्ष मनशान्त घिमिरे गिद्ध संरक्षणकै लागि सरकारले एक्सन प्लान बनाई रहदा सरकारकै अर्को निकायले यिनका गुँड बचाएरै आयाेजना अघि बढाउनेमा आँफू विश्वस्त रहेकाे बताउनुहुन्छ ।

जिपिएस लाेकेसन नै गुँड र बासस्थान पुष्टिकाे आधार

सन २०२२ देखि २४ सम्म गरिएकाे जिपिएस लेकेसन ट्य्राकिङमा गिद्धले साे क्षेत्रमा आराम गर्ने, बास बस्ने, आहार खाेज्ने, प्रजनन तथा गुँड लाउने उपयुक्त स्थल बनाउदै आएकाे देखिएकाे छ ।  जुन कुराकाे पुष्टि यस क्षेत्रमा गिद्धका गुँडकाे अवस्था अध्ययनका लागि लगातार ३ वर्षकाे जिपिएस लाेकेसन ट्यापिङ्गले गरेकाे पंक्षी संरक्षणकर्मी चाैधरीले बताउनु भयाे । कतिपय पंक्षीविदहरूले जसरी मानवीय आवश्यकता पूरा गर्न भाैतिक निर्माण आवश्यक छ उत्तिकै संकटापन्न जीवका बनि बनाउ बासस्थान जाेगाउन पनि सतर्कता अपनाईनु जरूरी रहेकाे कुरा ओैल्याएकाछन् ।

गुरु याेजना अध्ययन तथा अवलोकन कर्ताहरू आयाेजना स्थल सि वान ब्लक देखि उत्तर पश्चिम क्षेत्रमै अधिकांश गिद्धका गुँड देखिएकाे र प्रस्तावित गुरु याेजनामा हरियाली पार्क पनि यतै रहेकाे हुँदा यहाँ गरिने विवेकपूर्ण निर्माण गतिविधिले निरीह पंक्षीका बास संरक्षण हुनेमा झिनाे आश पलाएकाे बताउँछन् ।

समुद्री सतहकाे ७५ मिटर देखि १८ सय मिटर सम्म बिचरण गर्ने डंगर गिद्धकाे संख्यामा विषाक्त आहार र बासस्थान बिनासले पछिल्लाे अढाई दशकमा ८९ प्रतिसतले गिरावट आई लाेपाेन्मुख अवस्थामा पुगेकाे अध्ययनले देखाएकाे छ ।संरक्षणकै प्रसंगमा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्मा बच्नै पर्ने कुराहरू बचाएर निर्माण कार्य गर्दा उक्त स्थानकाे झनै शाेभा बढ्ने बताउनुहुन्छ ।

गिद्धकाे आनिबानी बारे अध्ययन गरि रहेका संरक्षणकर्मीका भनाईमा ज्याेतिकुञ्जका वनमा गुँड र बच्चा भएका कतिपय गिद्ध आहारकै खाेजिमा पश्चिम नवलपरासी, रूपन्देही, पाल्पा स्याङ्जा हुँदै कास्की सम्म पुगेर साँझ गुँडमै फर्कने गर्दछन् ।

नेपालमा डंगर,हाडफाेर,सुन गिद्ध,राजगिद्ध,सानाेखैराे, लामाे ठाेडे, खैराे ठाेडे, सेताे गिद्ध र हिमाली गरी ९ प्रजातिका गिद्ध पाईने गरेकाे छ । त्यस मध्ये ८ प्रजातिका गिद्ध कावासाेती आसपासकै क्षेत्रमा देखिने गरेकाे कावासाेती स्थित जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिले जनाएकाे छ ।

प्रकाशित : २०८१ भदौ १५ गते ८:४७

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI