गैंडाकोट-९ देशकै पहिलो पूर्ण सहकारी सदस्य वडा घोषणा

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ १ गते १९:५६
गैंडाकोट-९ देशकै पहिलो पूर्ण सहकारी सदस्य वडा घोषणा

गैँडाकोट । विकू बचत तथा ऋण सहकारी संस्थाले गैँडाकोट ९ लाई पूर्ण विकू सदस्य वडा घोषणा गरेको छ । गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले विकूको कार्यक्रममा गैँडाकोट ९ लाई देशमै पहिलो पूर्ण विकू सदस्य वडा घोषणा गर्नुभएको हो ।

गैँडाकोट वडा नम्बर ९ का करिब ९४ प्रतिशत घर परिवारका सदस्य विकू सहकारीमा सदस्य बनेकोले वडालाई पूर्ण विकू सदस्य वडा घोषणा गरिएको संस्थाका सचिव प्रेमप्रसाद सापकोटा राजुले बताउनुभयो । गैँडाकोट ९ मा २ हजार १ सय ८८ जनसङ्ख्या रहेको छ । त्यसमध्ये १४ सय जनसंख्या विकूमा आवद्ध रहेका छन् । १ सय ९६ जना आकुरा सदस्य पनि विकूमा आवद्ध रहेको सचिव सापकोटाले बताउनुभयो । गैँडाकोट ९ का ४ सय ९२ घरधुरी मध्ये अहिले विकू सहकारीमा ४ सय ७० घरधुरीको आवद्धता रहेको छ ।

घोषणा कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले विकूमार्फत विपन्न बर्गले पनि आफ्नो जीवनस्तर उकास्न पाएको बताउनुभयो । उहाँले सहकारीले आफ्नो ध्येयलाई आत्मसात गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो र विकूले सहकारी क्षेत्रमा सदस्यमैत्री बनेर गरेका उत्कृष्ट कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइरालाले गैँडाकोट ९ भाग्यमानी वडा भएको बताउनुभयो । सहकारी अभियानमा उत्कृष्ट रहेको नगरको विकूले देशमै पहिलोपटक पूर्ण सहकारी वडा घोषणा गर्नु सबैको लागि खुसीको कुरा भएको बताउनुभयो ।

विकू सहकारीका अध्यक्ष ओमप्रसाद सापकोटाले आफै केही गर्नुपर्छ भन्ने भावना भएका व्यक्तिहरु रहेकाले पूर्ण सदस्य वडा घोषणा गरिएको बताउनुभयो । पूर्ण वडा घोषणा सँगै आन्तरिक आवश्यकताका आधारमा कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । वडा कार्यालय, नगरपालिकासँग सहकार्य गरी गैरवित्तीय कार्यक्रमलाई सहयोग गर्ने, सदस्यको क्षमताका आधारमा आत्मनिर्भर बनाउने खालका कार्यक्रम गरिने उहाँको भनाई छ ।

गैँडाकोट ९ का वडाध्यक्ष धामनाथ सापकोटाले सहअस्तित्व, सहकार्य, सहलगानी नै सहकारी भएकाले आफ्नै वडाबाट पूर्ण सहकारी वडा घोषणा हुँदा खुसी लागेको बताउनुभयो । उहाँले विकूसँग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने समेत बताउनुभएको छ ।

विकूले नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम) र चितवनका गरी १४३ वडामा २४ वटा सेवा केन्द्र मार्फत करिब १ लाख ३० हजार सदस्यलाई वित्तीय तथा गैरवित्तीय कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाका प्रमुख अधिकृत माधव प्रसाद पौडेलले जानकारी दिनुभयो । यसरी देशमै पहिलो सहकारीले पूर्ण सहकारी सदस्य वडा घोषणा गर्न पाउनु विकूको लागि गौरवको विषय भएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. नवलपुरका अध्यक्ष होमनाथ जैसी, नवजागरण सेवा केन्द्र संयोजक हरिप्रसाद सापकोटा, विकू सहकारीका लेखा सुपरिवेक्षण समीति संयोजक कमल सुबेदी, संस्थापक अध्यक्ष खेमराज सापकोटा, गैँडाकोटका बिभिन्न वडाका जनप्रतिनिधिले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने स्वागत मन्तव्य विकूका उपाध्यक्ष यमुनाथ आचार्यले राख्नुभएको थियो ।

प्रकाशित : २०८० भदौ १ गते १९:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI