साँवा-ब्याजको दायित्व पुँजीगत खर्चकै हाराहारी गत आर्थिक वर्ष २०७९/८० मा नेपालको पुँजीगत खर्च रु दुई खर्ब ३३ अर्ब ६९ करोड बराबर हो । सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा गत वर्ष सरकारले गरेको खर्च पनि विकास खर्चकै हाराहारी छ । गत वर्षमा ऋणको साँवा ब्याज भुक्तानीमा सरकारले रु दुई खर्ब २२ अर्ब ७४ करोड २१ लाख खर्च गरेको छ । जसमध्ये, आन्तरिक ऋणको साँवा–ब्याज भुक्तानी रु एक खर्ब ७९ अर्ब ७२ करोड ५३ लाख र बाह्य ऋणको साँवा ब्याज भुक्तानीमा रु ४३ अर्ब एक करोड ६८ लाख बराबर खर्च भएको छ । सरकारले गत वर्ष आन्तरिक ऋणको साँवा मात्रै रु एक खर्ब १५ अर्ब ११ करोड ७८ लाख बराबर तिरेको छ । त्यस्तै, आन्तरिक ऋणको ब्याजमा रु ६४ अर्ब ४९ करोड ४२ लाख र नेपाल राष्ट्र बैंकलाई तिर्ने कमिसनमा रु ११ करोड ३३ लाख बराबर खर्च भएको छ । बाह्य ऋणमा भने रु ३४ अर्ब ६१ करोड ७९ लाख बराबर साँवा र रु आठ अर्ब ३९ करोड ८९ लाख बराबर ब्याज भुक्तानी भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०७९/८० मा नेपालले रु तीन खर्ब ३८ अर्ब ११ करोड ७८ लाख बराबर आन्तरिक र बाह्य ऋण उठाएको छ । आन्तरिकतर्फ रु दुई खर्ब ५५ अर्ब ९९ करोड ७७ लाख र बाह्यतर्फ रु एक खर्ब दुई अर्ब १२ करोड बराबर ऋण उठाइएको छ । जिडिपी–ऋण अनुपात ४५ दशमलव ८० प्रतिशत अहिले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को आकार रु ४८ खर्ब ५१ अर्ब ६२ करोड रहेको छ । जिडिपीको यो आकारलाई आधार मान्दा जिडिपीमा सार्वजनिक ऋणको अनुपात ४५ दशमलव ८० प्रतिशत पुगेको छ । जिडिपीमा सार्वजनिक ऋणको अनुपात बढ्दै जानु र न्यून पुँजी निर्माणका कारण आर्थिक वृद्धिदरसमेत कमजोर भइरहँदा त्यसले आगामी दिनमा मुलुकको अर्थतन्त्रलाई जोखिममा पार्नेसक्ने भन्दै सार्वजनिक ऋण बढेकामा आलोचना हुने गरेको छ । एक दशकमा चार गुणाले बढ्यो सरकारी ऋण आर्थिक वर्ष २०७०/७१ मा नेपालको सार्वजनिक ऋण रु पाँच खर्ब ५३ अर्ब ५० करोड ७० लाख बराबर थियो भने उक्त वर्ष जिडिपीमा सार्वजनिक ऋणको अनुपात २८ दशमलव ५१ प्रतिशत बराबर थियो । पछिल्लो करिब एक दशकमा नेपालको सार्वजनिक ऋण चारगुणाले बढेको छ भने जिडिपीमा ऋणको अनुपात दोब्बरले बढेको छ । पछिल्लो पाँच वर्षमा मात्र नेपालको सार्वजनिक ऋण दोब्बरभन्दा बढीले बढेको छ । आर्थिक वर्ष २०७३/७४ मा नेपालको सार्वजनिक ऋण रु छ खर्ब ९७ अर्ब ६८ करोड बराबर थियो । भूकम्पपछिको पुनःसंरचनाका लागि नेपालले ऋण मात्रामा ऋण उठाएपछि आर्थिक वर्ष २०७४/७५ सम्ममा रु नौ खर्ब १७ अर्ब ३१ करोड पुग्यो । त्यसपछि आर्थिक वर्ष २०७५/७६ मा रु १० खर्ब ४८ अर्ब १५ करोड, आर्थिक वर्ष २०७६/७७ मा रु १४ खर्ब ३३ अर्ब ४० करोड, आर्थिक वर्ष २०७७/७८ मा रु १७ खर्ब ३७ अर्ब ६३ करोड र आर्थिक वर्ष २०७९/८० सम्ममा रु २० खर्ब १३ अर्ब २९ करोड बराबर पुगेको थियो । प्रतिव्यक्ति ऋण रु ७६ हजार एक सय ७७ राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना, २०७८ अनुसार कूल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ बराबर छ । कूल सार्वजनिक ऋणलाई कूल जनसङ्ख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण रु ७६ हजार एक सय ७७ बराबर पर्न जान्छ । यसवर्ष थप रु चार खर्ब ५२ करोड ऋण उठाउने लक्ष्य सरकारी राजस्व सङ्कलनको तुलनामा ठूलो आकारको बजेट ल्याउँदा सरकारले आन्तरिक र बाह्य ऋणलाई बजेट स्रोतका रुपमा देखाउँछ । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को घाटा बजेट पूर्ति गर्नका लागि रु चार खर्ब ५२ अर्ब ७५ करोड बराबर ऋण उठाउने लक्ष्य राखेको छ । जसमध्ये रु दुई खर्ब ४० अर्ब आन्तरिक र रु दुई खर्ब १२ अर्ब ७५ करोड बाह्य ऋण उठाउने सरकारको लक्ष्य छ ।रासस
Facebook Comment